सौर्य एयरलाइन्स जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु

जनता संवाददाता
२०८१ श्रावण ९ गते, बुधबार

काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको CRJ7 (Reg-9NAME) जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

प्रवक्ता पाण्डेले मृतकहरूको सनाखत हुन बाँकी रहेको जानकारी दिँदै शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको बताए ।

जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलेको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज ममर्तका लागि पोखरा पठाइएको पुष्टि गरे । दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।

विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भुईँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।

मृत्यु हुनेमा १८ जना हुनुपर्नेमा २२ जना लेखिएकोमा सच्याईएको छ । -सम्पादक

प्रकाशित मिति : २०८१ श्रावण ९ गते, बुधबार


Scroll to Top

Janata Media