जापान पठाउने भन्दै दुई करोड ६८ लाख ठगी गर्ने दुई जना पक्राउ

जनता संवाददाता
२०८१ बैशाख २१ गते, शुक्रबार

काठमाडौँ । जापान पठाइदिने प्रलोभनमा दुई सयभन्दा बढी मानिससँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेका छन् ।

श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका १ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए । रामेछाप घर भएका राजन श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा बैंक समेतमा खाता खोलेको र खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायण बहादुर राईको राखेको साथ केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग अलग हुँदा समेत सानिमा बैंकले भेरिफाइ नगरी खाता खोलिदिएको र उक्त खातामा विदेश जान चाहने मानिसहरुबाट रकम जम्मा गर्न लगाई ठगी गरी उक्त रकमहरु निकाली दुरुपयोग गरेको देखिएको बताए ।

उनीहरुले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको, सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख रकम लिएको देखिएको, वैदेशिक रोजगार विभागमा अन्य करिव १०० जनाबाट दुई करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको बताए । त्यस्तै निज राजन श्रेष्ठलाई यही वैशाख २० गते काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७ बाट र ईश्वरी पाण्डेलाई काठमाडौँ कामनपा २९ बाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको बताए ।

नारायणबहादुर राई भन्ने राजन श्रेष्ठले मेरो खातामा तपाईंहरुले धेरै रकम हालिसक्नुभयो, बैंक ट्रान्जेक्सन धेरै देखिने हुँदा मेरो पार्टनर पर्वराज भन्ने ईश्वरी पाण्डेको खातामा रकम जम्मा गर्न लगाउने गरेको देखिएको बताए ।

वास्तविक नारायणबहादुर राईलाई सम्पर्कमा ल्याई बुझ्दा निजको नागरिकता १५/१६ वर्ष अगाडि हराएको र विगत तीन वर्षदेखि पठाओ(मो.सा.) चलाई जिविका चलाउने सामान्य व्यक्ति रहेको र निजले हालसम्म कुनै कम्पनी वा कन्सल्टेन्सी दर्ता नगरेको खुल्न आएको बताए ।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते, शुक्रबार


Scroll to Top

Janata Media