एमसिसीको पहिलो ठेक्का सम्झौता, ३९ महिनामा नवलपरासीमा सबस्टेसन बन्ने

जनता संवाददाता
२०८१ बैशाख २७ गते, बिहीबार

काठमाडौँ । अमेरिकी सहायता नियोग(एमसिसी) अन्तर्गत नेपालमा निर्माण हुने आयोजनाहरूको पहिलो ठेक्का सम्झौता भएको छ । पहिलो ठेक्काअन्तर्गत नवलपरासी(वर्दघाट सुस्ता पूर्व)मा बन्ने ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेसन निर्माण गर्ने योजना छ । उक्त ठेक्का भारतको लिंकसन इन्डिया प्रालीले पाएको छ ।

बिहीबार नवलपरासीमा एक समारोहबीच एमसिए–नेपाल र ठेक्का प्राप्त कम्पनी लिंकसनबीच निर्माण सम्झौता भएको हो । सम्झौता समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन, स्थानीय अधिकारीहरू तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

उक्त ठेक्का सम्झौताको अवधि ३९ महिना निर्धारण गरिएको छ । सम्झौताअनुसार लिंकन इन्डियाले ३९ महिनामा सबस्टेशन निर्माण गरेर एमसिए–नेपाललाई हस्तान्तरण गर्नुपर्ने छ ।

समारोहमा अमेरिकी राजदूत थम्पसनले नेपालको ऊर्जा आवश्यकता सम्बोधनका गर्न एमसिसी कम्प्याक्टको उपयोगिता सिद्ध गर्न अमेरिकी सरकार प्रतिबद्ध रहेको बताए । उनले एमसिसीको सहयोगमा निर्माण हुन लागेको सबस्टेसनले घरेलु उपभोग, व्यापारिक एवं औद्योगिक संस्थाहरूको विस्तार तथा सीमापार विद्युतीय व्यापारका लागि प्रसारण क्षमतामा सुधार ल्याउने बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले न्यु बुटवल सबस्टेसन प्राधिकरणको प्राथमिकतामा परेको संरचना रहेको बताउँदै यसले सीमापार ऊर्जा व्यापारमा उल्लेख्य योगदान पु¥याउने बताए ।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसिसी कम्प्याक्ट कार्यान्वयनमा तीब्रतापूर्वक अगाडि बढिरहेको बताए । उनले भने, ‘प्रसारण लाइन र सबस्टेशनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइएको छ ।’ उनले बाँकी दुई वटा सबस्टेसनको निर्माणका लागि खरिद प्रक्रियाको अन्तिम चरणमा पुगेको बताए ।

एमसिसीअन्तर्गत विद्युत् प्रसारण आयोजनाअन्तर्गत नुवाकोट जिल्लाको रातमाटेमा र तनहुँ जिल्लाको दमौलीमा पनि एक–एक वटा सबस्टेसन निर्माण गर्ने योजना छ ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते, बिहीबार


Scroll to Top

Janata Media