बेल्जियमका प्याट्रिक नेपाली महिला फुटबलको प्रशिक्षक नियुक्त

जनता संवाददाता
२०८२ जेष्ठ २२ गते, बिहीबार

काठमाडौँ । नेपली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डी वाइल्ड नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रशिक्षकको आवेदन दिएका विभिन्न देशका २२ जना प्रशिक्षकको सूचीबाट अन्तिममा दुई हुँदै प्याट्रिकलाई नियुक्त गरेको हो ।

प्याट्रिकलाई बिहीबार एन्फाका महासचिव किरण राईले नियुक्ती पत्र प्रदान गरे । प्याट्रिकसँग एन्फाले एक वर्षको सम्झौता गरेको छ ।

प्याट्रिक यसअघि नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्स फुटबल क्लबको प्रशिक्षक थिए । युइएफएबाट प्रो लाइसेन्स प्राप्त प्याट्रिकले प्रमुख प्रशिक्षकको रूपमा राष्ट्रिय टोली सम्हाल्न लागेको भने यो पहिलो पटक हो ।

यसअघि उनले अल्जेरिया र हङ्गेरीको फुटबल टोलीको सहायक प्रशिक्षक सम्हालेका थिए । उनले चीनको यु-२३ महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको मूमिका पनि निर्वाह गरिसकेका छन् ।

उनिसँग विभिन्न क्लब सम्हालेको पनि अनुभव छ । प्याट्रिकको प्रशिक्षणमा नेपालले अब एएफसी महिला एसिया कप छनोट खेल्ने छ ।

छनोटको तयारीका लागि नेपालले हालै थाइल्यान्डसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल दुवै खेलमा पराजित भएको थियो । एसिया कप छनोटको पहिलो चरणका खेलहरू मे ४ तारिखबाट सुरु हुने छ ।

छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलङ्का र उज्वेकिस्तान रहेका छन् । समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसिया कपमा स्थान बनाउने छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते, बिहीबार


Scroll to Top

Janata Media