
हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकाले वडा नं २ का स्थानीय कृषकहरुलाई उन्नत जातका दाँते ओखरका बिरुवा वितरण गरेको छ । गाउँपालिकाको रोजगार शाखाको कार्यक्रम अन्तर्गत कृषि शाखाको समन्वयमा २ नं वडाको माथिल्लो भट्या फलफूल खेतीमा १६० ओखरका बिरुवा वितरण गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लालकेश जैसी, उपाध्यक्ष सुरेन्द्र बहादुर थापा, वडा नं २ का अध्यक्ष , विभिन्न शाखाका शाखा प्रमुख र अन्य स्थानीयहरुको उपस्थिति थियो ।
उक्त कार्यक्रममा अध्यक्ष लालकेश जैसीले जनताको आम्दानीको स्रोत पहिचान गरेर नै कृषिमा सबैभन्दा धेरै ९ करोड लगानी गरिएको र यो लगानीलाई बेवास्ता गरेर जुन कृषक अर्थात समुहले प्रभावकारी ढंगले काम गर्दैन त्यो ठाउँमा लगानी नगर्ने बताए । ‘यो आर्थिक वर्ष मात्रै हामीले कृषि क्षेत्रमा ९ करोड लगानी गरेका छौँ । जनताको आम्दानीको स्रोत नै भएन भने मोटर बाटो पुगेको अर्थ भएन भन्ने ठम्याएर कृषिमा उल्लेख्य लगानी गरेका छौँ । यो लगानीलाई सफल पार्न तपाईँ स्थानीयको साथ चाहिन्छ । जो-जो ले संरक्षण गर्छ अर्थात जहाँ-जहाँ संरक्षण गरिन्छ, त्यहि ठाउँमा मात्रै लगानी गर्ने निति गाउँपालिकाले लिएको छ । त्यसकारण, जहाँ जहाँ घेर भत्किएको छ बनाउनुहोला ।’ उनले भने ।
कार्यक्रममा बोल्दै अध्यक्ष जैसीले अबको ५ वर्षभित्र ताँजाकोटलाई कृषिको हब बनाउने घोषणा गरेका छन् । यस अभियानमा स्थानीयदेखि प्रदेश सरकार र संघिय सरकारको पनि उल्लेख्य साथ रहने अपेक्षा गरेका छन् ।