कर्णाली कोरिडोरमा सोह्र वटा पुल निर्माण

जनता संवाददाता
२०८१ बैशाख २८ गते, शुक्रबार

हुम्ला । कर्णाली कोरिडोरको कालिकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्म सोह्र वटा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ । खुलालु सलीसल्ला सडक आयोजनाले निर्माण कम्पनीसँग निर्माण कार्यका लागि सम्झौता गरेको आठदेखि दश महिनामा ती पुलहरूको निर्माण कार्य सम्पन्न भएको हो ।

खुलालु सलीसल्ला सडकका प्रमुख वीरेन्द्र चन्दले सम्झौता भएको आठदेखि दश महिनामा कर्णाली कोरिडोरको कालिकोटको खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्लासम्म साना तथा ठुला खोलामा सोह्र वटा पक्की पुल निर्माण कार्य सम्पन्न भएको बताए । उनले उक्त खण्डमा पुल निर्माण कार्यले बर्खा याममा सडक अवरुद्ध हुने कार्यबाट बिदा लिएको बताए । यसका लागि गत वर्ष चैत महिनामा कार्यालयले नेपाल मेघा प्रालिसंग ती पुल निर्माणका लागि सम्झौता गरेको थियो ।

२०८० सालको वैशाख महिनाबाट निर्माण कार्य सुरु भएको थियो । उनले सबै पुलको निर्माण कार्य गत कात्तिक महिनामा सम्पन्न भएको भए पनि बाँकी काम भने चैत महिनामा सम्पन्न भएकोमा अन्तिम भुक्तानी भने यति बेला भएको बताए । प्रालिका स्थानीय प्रतिनिधि पामामुटुव लामाले निर्माण कार्य सुरु भएको मितिबाट कामलाई तीव्रता दिएको कारण निर्धारित मिति भन्दा निर्माण कार्य अगाडी नै सम्पन्न भएको बताए । अर्को कुरा सलीसल्लासम्म राष्ट्रिय सडक सञ्जाल जोडिएको कारण पुल निर्माणका लागि सामाग्री जुटाउन सहज भएको कारण पनि काम चाँडो सम्पन्न गर्न सहज भएको उनले बताए ।

खुलालु सलीसल्ला खण्ड १२३ किलो मिटर दुरी रहेको छ । निर्माण कार्य सम्पन्न भएका पुलहरू खुलालुदेखि कवाडीसम्म आठ वटा रहेका छन् भने कवाडीबाट सलीसल्लासम्म आठ वटा पुल निर्माण भएका छ । यी पुलहरू सबै छ मिटर चौडा र आठ मिटर लम्बाई रहेका छन् । जस मध्य कवाडी सलीसल्ला खण्डको मकैमा गत वर्ष असोजमा आएको बाढीले निर्माण कार्य पुरा भएको पुललाई बगाएपछि अर्को पुल निर्माण कम्पनी पक्षले गर्नु परेको थियो ।

यी सबै पुल निर्माणका लागि भ्याट सहित कार्यालयले नौ करोड बजेट खर्च गर्नु परेको छ । उक्त खण्डमा यी पक्की पुलको निर्माण कार्य भएसँगै अब बर्खा याममा बाढी पहिरो गएको वा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध हुने कार्य बन्द हुने विश्वास गरिएको छ ।

विभिन्न खोलाहरूमा पुल बनेको कारण यातायातका साधनहरूलाई निक्कै सहज भएको चालक वीरबहादुर नेपालीले बताए । गत वर्ष कात्तिक महिनासम्म पानी परेका बेला ती खोलाहरूमा यातायात सेवा अवरुद्ध भएको स्मरण गर्दै उनले अब त्यो समस्या समाधान भएको बताए ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते, शुक्रबार


Scroll to Top

Janata Media