एमाले तनहुँको दसौँ जिल्ला अधिवेशन सुरु

जनता संवाददाता
२०८१ बैशाख २९ गते, शनिबार

काठमाडौं । नेकपा (एमाले) तनहुँको १० औँ जिल्ला अधिवेशन सुरु भएको छ । नेतृत्वका लागि हुने निर्वाचन प्रक्रिया सम्पन्न गर्न सात सदस्यीय निर्वाचन समिति मनोनयन गरिएको छ । एमाले केन्द्रीय निर्वाचन समितिका अध्यक्ष विजय सुब्बाले तनहुँ जिल्लाको निर्वाचन सम्पन्न गर्नका लागि सात जनालाई मनोनयन गरेका हुन् ।

प्रमुख निर्वाचन अधिकृतमा पदमलाल लामिछाने निर्वाचन अधिकृतहरूमा विजयकुमार श्रेष्ठ, पुष्प खनाल, सोमकान्त पौडेल, भगवान् त्रिपाठी, विजय खनाल र ज्योतिप्रकाश तिमिल्सिना तोकिएको छ । उनीहरूलाई निर्वाचन प्रक्रियालाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्ने जिम्मेवारी तोकिएको छ । अधिवेशनको एमालेका महासचिव शङ्कर पोखरेलले शुक्रबार उद्घाटन गरे ।

सो अवसरमा उनले देशभक्त, लोकतन्त्र र सामाजिक न्यायको लागि एमाले अग्रणी भूमिका खेलेको बताए । अधिवेशनमा ५८७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरेको छ । एकताको सन्देश दिन तथा पार्टी थप मजबुत बनाउन गरी सहमतिमा नयाँ नेतृत्व चयन गर्ने प्रयास भइरहेको एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

२०८१ वैशाख ७ र ८ लाई तय भएको अधिवेशनको प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा र प्रदेश सभा सदस्यका लागि बझाङ १ क मा वैशाख १५ गते हुने उपचुनावका लागि नेताहरू केन्द्रित हुनुपर्ने भएकाले अधिवेशन सारिएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते, शनिबार


Scroll to Top

Janata Media