काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाए पाएसँगै उनलाई नपाली क्रिकेट टोलीमा समावेश गर्नेबारे छलफल गर्न नेपाल क्रिकेट संघ (क्यान) ले आज बेलुका बैठक बस्ने तयारी गरेको छ।
संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्नेरनगराउने विषयमा निर्णय गर्ने क्यान स्रोतले जानकारी दिएको छ।
संघका केन्द्रीय सदस्य छम्बु लिम्बूले बलात्कार मुद्दामा लामिछानेले सफाइ पाएसँगै विश्वकपको ढोका खुल्ला भएको बताए। नागरिक न्युजसँग कुरा गर्दै उनले भने ‘उच्चको आदेश आइसकेपछि नेपाल क्रिकेट संघले केही निर्णय गर्नुपर्ने हुन्छ। हामीले जति सक्दा चाँडो आइसिसीसँग समन्वय गरेर खेल्नका लागि बाटो खुल्ला गर्छौँ।’
आइसिसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदै छ। जसका लागि नेपाली टोली पनि घोषण भइसकेको छ।
खेलाडी छनोट गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मे १ तारिखसम्मको समय दिएको थियो। सोही अनुसार, नेपाल क्रिकेट संघ (क्यान) ले पनि १५ सदस्यीय टोलीको घोषणा गरिसकेको हो।
अदालतबाट सफाइ पाएसँगै सन्दीपले आगामी टी–२० विश्वकप खेल्न पाउने सम्भावना कायमै छ। उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न सकिने क्यानका केन्द्रीय सदस्य लिम्बूले जानकारी दिए।
आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ। त्यसैले त्यो समयभित्र हरेक राष्ट्रले आफ्नो टोलीमा परिवर्तन गर्न सक्ने सम्भावना रहन्छ।
’नेपालले टोली घोषण गरेपनि आइसिसी केही टेक्निकल कुरा खुल्ला राखेको हुन्छ। इन्जुर, रिपेस्मेन्ट जस्ता कुरा पनि हुन्छन्। त्यस कारण सन्दीपले विश्वकप खेल्ने सम्भावना रहन्छ’ जनता मिडियासँग उनले भने।







