हुम्लाको एक घरमा आगलागी हुँदा ४५ लाख बराबरको क्षति

जनता संवाददाता
२०८० पुष २४ गते, मंगलवार

ओबराज शाही, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्रामा एक घरमा आगलागी भएको छ । छिप्राका प्रकाश सिंहको घरमा बिहान करिब १० बजे विजुलीको तार सट भएर आगो लागेको स्थानीयले बताए । दुई तले घरको माथिल्लो तला आगोले पूर्णरुपमा नष्ट भएको छ भने तलको तलामा केही क्षति पुगेको घर धनी प्रकाश सिंहले बताए ।

बिहान करिब १० बजे लागेको आगो करिब ११ बजे नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बताए । प्रहरी निरीक्षक चन्दका अनुसार आगलागीका कारण करिब ४५ लाख ३२ हजार रुपैयाँ बराबरको क्षति भएको बताए । घरमा भएका लत्ताकपडा, अन्नपात, फर्निचरलगायतका सामान जलेर नष्ट भएको छ ।

आगलागीबाट घरमा क्षति पुगेपछि अहिले प्रकाश सिंहको घर परिवार अर्काको घरमा बस्दै आएको स्थानीय लोकेन्द्र हमालले बताए । छिप्रा गाउँका स्थानीय र जिल्लाबाट खटिएको नेपाल प्रहरीको टोलीले आगलागी नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २०८० पुष २४ गते, मंगलवार


Scroll to Top

Janata Media