४ वर्षदेखि बर्थिङ सेन्टरको भवन अलपत्र, कामदारको ज्याला नै गायब

जनता संवाददाता
२०८१ जेष्ठ २९ गते, मंगलवार

सर्जन कुमार शाही, मुगु । जिल्लाको छायानाथ रारा नगरपालिका–१४ बाम गाउँमा निमार्णाधिन बर्थिङ सेन्टर भवन ४ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत बजेट विनियोजित भई जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुमार्फत निर्माण सुरु गरिएको बाम बर्थिङ सेन्टर भवन ४ वर्षदेखि अलपत्र परेको हो ।

छायानाथ रारा नगरपालिका–१४ बाम बर्थिङ सेन्टर भवन निर्माण गर्ने भनी कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको बजेट जिल्ला स्वास्थ्य सेवा कार्यालयमार्फत २०७७ जेठ २० गते सम्झौता भई २०७७ असार २५ गते आयोजना सम्पन्न गर्ने गरी कार्यालय र उपभोक्ता समितिबीच सम्झौता भएको भए पनि भवन बजेट अभावमा अलपत्र परेको उपभोक्ता समितिको भनाइ छ ।

असार मसान्तको अन्तिम छोटो समयमा आएको बजेट र भएको सम्झौताले न बर्थिङ सेन्टर बन्योे न त कामदारले सुख पाए । २० लाखमा भवन निर्माण गर्ने सम्झौता भएको भए पनि बजेट अभावमा बर्थिङ सेन्टर भवनको पहिलो एक किस्ता पेस्की स्वरूप ४ लाख मात्रै पाएको निर्माण उपभोक्ता समितिका अध्यक्ष गोरबहादुर बढुवालले बताए ।

उनका अनुसार भवन निर्माणका लागि असार मसान्तको अन्तिममा बजेट आयो जग्गा विवादमै समय गएकाले भवन पूरा गर्न सकिएन पुनः बजेट आउने आशामा काम गरेको भए पनि ४ वर्ष बितिसक्दा पनि बजेट निकासा नहुँदा समस्या भएको अध्यक्ष बढुवालले गुनासो गरे । बजेट अभावले बाम बर्थिङ सेन्टर भवन ४ वर्षदेखि अलपत्र अवस्थामा छ ।

भवनको जग र पिल्लर मात्रै ठढाइएका छन् । २०७७ सालमा निर्माण थालिएको बाम बर्थिङ सेन्टर भवनको निर्माणमा कामदारले ४० दिनसम्म काम गरेका छन् । तर कामदारले ज्यालासमेत पाएका छैनन् । कामदारका अनुसार घरखर्च चलाउन बालबालिकाको कापीकलममा जोहो गर्न काम गरेका भए पनि ४० दिनसम्म बर्थिङ सेन्टर भवन निर्माणको काम गरेका भए पनि ज्याला एकसुको नपाएको बताएका छन् ।

आर्थिक वर्षको अन्तिमतिर आएको बजेटले काम सम्पन्न गर्न कठिन भएको देखिन्छ । तर, पछि निर्माण सम्पन्नका लागि बजेट मागका लागि मन्त्रालयमा धाउँदा सुनुवाइ नभएको र बर्थिङ सेन्टर भवन ४ वर्षदेखि अलपत्र अवस्थामा रहेको छायानाथ रारा नगरपालिकाका–१४ का वडा अध्यक्ष जुनबहादुर खड्काले बताए ।

यता जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख डा.निर्मल नगरकोटीका अनुसार कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट मसान्तको अन्तिमतिर नाम तोकेरै बाम बर्थिङ सेन्टर उता खत्याडमा पनि बर्थिङ सेन्टर भवन निर्माणका लागि बजेट आयो त्यसै अनुरूप सम्झौता भई काम अगाडि बढे पनि काम समयमै सम्पन्न नभएकाले बजेट फ्रिज गएको दावी गरे ।

यसका बारेमा पुनः एकपटक सम्बन्धित मन्त्रालयमा कुरा राख्ने र सुनुवाइ भए यसै आर्थिक वर्षमा अधुरो भवनलाई पूर्णता दिने डा.नगरकोटीको भनाइ छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते, मंगलवार


Scroll to Top

Janata Media