काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गङ्गादत्त नेपाललाई नियुक्त गरेको छ ।
बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सिन्धुपाल्चोकका नेपाललाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले आयोगको रिक्त उपाध्यक्ष पदमा नेपाललाई नियुक्त गर्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको जानकारी दिए ।
बैठकले आयोगको सदस्यहरुमा काभ्रेका गुणराज मुक्तान र काठमाडौँका डा. दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको सरकारका प्रवक्तासमेत रहेका मन्त्री लामिछानेले बताए ।
बैठकले श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । यस्तै प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सदस्य सचिवमा नुवाकोटका दीपक लामालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
उनले प्रदेश सरकारले राजनीतिक नियुक्ति गर्ने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिलगायतका पदाधिकारी नियुक्ति कहिले हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा उनले यसका बारेमा बैठकमा छलफल भएको भन्दै छिट्टै नियुक्तिका लागि निर्णय गरिने बताए ।







