बढ्दै सर्पदंशका बिरामी : सर्पदंश केन्द्रमा जान सुझाव

जनता संवाददाता
२०८१ असार २ गते, आईतवार

काठमाडौँ, । गर्मी महिना बढेसँगै सर्पदंशका बिरामी बढ्दै गएका छन् । जेठदेखि भदौसम्ममा सर्प खाना खोज्न बाहिर निस्कने हुँदा सर्पदंशका बिरामी बढ्ने चिकित्सकको भनाइ छ ।

वीरगन्जस्थित नारायणी अस्पतालमा दैनिक आठदेखि १० जनाभन्दा बढी अस्पतालमा आउने अस्पतालका आकस्मिक विभाग प्रमुख डा। उदयनारायण सिंहले बताए । अस्पतालमा आउनेमध्ये दुईदेखि तीनजना गम्भीर अवस्थामा अस्पताल पुग्नेगरेको उनको भनाइ छ ।

उनका अनुसार अस्पतालमा ९९ प्रतिशत सर्पदंशका बिरामी गोमन र करेत, भाइपर, पिट भाइपर सर्पको टोकाइबाट अस्पताल आउने गर्छन् । त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अस्पतालमा दैनिक १२–१३ जना सर्पदंशका बिरामी आउने बताए ।

अस्पताल आएका बिरामीमध्ये केही अस्पतालमा भर्ना गरेर उपचार आवश्यक पर्ने उनको भनाइ छ । उनले भने, ‘पछिल्लो केही हप्तादेखि अस्पतालमा सर्पदंशका बिरामी बढ्दै गएका छन् । अस्पतालमा आएका केही बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार आवश्यक पर्छ ।’

अस्पतालमा आउने अधिकांश बिरामी काठमाडौँ उपत्यका नजिक जिल्लाबाट आउने गरेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, ‘उपत्यकानजिकका जिल्ला मकवानपुर, धादिङ, मकवानपुर, नुवाकोटलगायतका जिल्लाबाट बढी बिरामी आउने गर्छन् ।’

आर्थिक वर्ष २०७९–८० मा नौ हजार १२० जनालाई सर्पले टोकेको थियो । सरकारसँग यकिन तथ्याङ्क नभए पनि विश्व स्वास्थ्य सङ्गठनले नेपालमा वार्षिक एकसय जना सर्पदंशका बिरामीको मृत्यु हुनेगरेको अनुमान गरेको छ ।

नारायणी अस्पतालमा वार्षिक एक दुई जनाको मात्र मृत्यु हुने डा. सिंहले बताए । उनले भने, ‘अस्पतालमा सर्पदंशका बिरामीको मृत्युदर न्यून छ । वर्षमा एक दुई जनाको मात्र मृत्यु हुने गर्छ ।’

सर्पदंशको लक्षण

विषरहित सर्पले टोक्दा टोकेको ठाउँमा सुन्निने, घाउ हुने, घाउ पाकेर चिलाउनेजस्ता सामान्य समस्या देखिने डा. पुनले बताए । विषालु सर्प पनि दुई प्रकारका हुनेगरेको उनले बताए । एउटा रगत पातलो बनाउने र अर्को नसा र माशंपेशीमा असर गर्ने सर्प भएको उनको भनाइ छ ।

टेकु अस्पतालमा भर्ना भएका सर्पदंशका बिरामीमा रगत जम्ने समस्या देखिने गरेको डा. पुनले बताए। घरेलु उपचार गरी बिरामी ढिलागरी अस्पताल पुग्ने उनको भनाइ छ । त्यस्तै, नारायणी अस्पतालमा भाइपर सर्पले टोकेर रगत पातलो हुने, टोकेको ठाउँमा सुन्निने, रातो हुने, रगत बग्ने, दुख्नेजस्ता लक्षण देखिने गर्छ ।

गोमन र करेत सर्पले टोकेकोमा स्नायु प्रणाली असर पारी सुरुवाती चरणमा वान्ता हुने वाकवाकी लाग्ने, अचेत अवस्था हुँदै जाने, बिस्तारै आँखाको परेली माथि हेर्न नसक्ने, श्वासप्रश्वास बन्द हुनेजस्ता लक्षण लिएर सर्पदंशका बिरामी आउने गरेको डा। सिंहको भनाइ छ ।

सर्पले किन टोक्छ

इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी) का पशुचिकित्सक डा. रोशिका श्रेष्ठले सर्पले खतरा महसुस गरेपछि मात्र प्रतिरक्षा गर्ने गरेको बताए । सो क्रममा सर्पले मान्छेलाई टोक्ने उनको भनाइ छ ।

उनले भने “सर्पलाई नचलाएर टाढै बसेमा टोक्दैन । तर खाना खोज्न बाहिर निस्कँदा छोइएमा आक्रमण गर्न लागेको ठानेर प्रतिरक्षा गर्दा टोक्ने गर्दछ ।” त्यसका अलावा मानिसले सर्प देख्नेबित्तिकै मार्न खोज्दा, दुलोमा हात हाल्दा सर्पले टोक्ने उनको भनाइ छ ।

सबै सर्प विषालु हुँदैन

नेपालमा तराईका विभिन्न जिल्ला र मध्यपहाडमा बढी सर्पहरू देखिने गरेका छन् । सबै सर्पहरू विषालु नहुने चिकित्सकको भनाइ छ । नेपालमा पाइने सर्पमा विशेषगरी न्युरोटक्सीस र हेमाटोटक्सीज गरी दुई प्रकारका विष भएका सर्प रहेको पशुचिकित्सक डा. श्रेष्ठले बताए । उनका अनुसार न्युरोटक्सिस नसा र मांसपेशी र हेमाटोटक्सीस रगत पातलो बनाउने समस्या उत्पन्न गर्छ ।

मधेशमा हुने गोमन र करेत, मध्यपहाडमा पाइने हरियो सर्पहरू विषालु हुने उनले बताए । उनका अनुसार सतप्रतिशत विषालुले टोके पनि विष सर्दैन । ३० प्रतिशत लगोमनको टोकाइ विषरहित हुन सक्छ । करेतमा पनि ५० प्रतिशत टोकेकोमा मात्र विष जानेगर्छ ।

टोक्नासाथ के गर्ने

चिकित्सकका अनुसार सर्पले टोक्नासाथ दौडिने, भाग्ने गर्दा शरीरभरी विष फैलिने गर्छ । सर्पले टोक्नासाथ त्यहीँ बसेर सहयोग माग्न उहाँको आग्रह छ । टोकेको ठाउँ नचलाउने, शरीरमा कस्सिएका घडी, चुरा, औँठी, पाउजु, पेटी खोल्नुपर्ने चिकित्सकको सुझाव छ ।

टोकेको दुई तीन इन्चमाथि कपडाले हल्का बाँध्न चिकित्सकको सुझाव छ । त्यसो गर्दा शरीरभरि विष फैिन पाउँदैन । सर्पदंशका बिरामीलाई पानी पनि खान नदिई जतिसक्दो जाडो सर्पदंश केन्द्रमा लैजान उहाँको सुझाव छ ।

चिकित्सकका अनुसार सर्पले टोकेको व्यक्ति आत्तिन सक्ने भएकाले अस्पतालमा जानासाथ सान्त्वना दिन चिकित्सकको सुझाव छ । घरेलु उपचारजस्तै गोबर लगाउने, ढुङ्गाले घोट्ने, धामी झाँक्रीकोमा लैजाने र टोकेको माथिल्लो भाग काट्ने, बाँध्ने, टोकेको ठाउँमा चुसेर रगत निकाल्नेजस्ता क्रियाकलाप नगर्न डा. सिंहको भनाइ छ ।

कसरी बच्ने

घर वरिपरि नियमित सरसफाइ गर्ने, सर्पलाई नचलाउने, सर्पले सामान्यतयाः हिँड्दा ध्यान नदिँदा, घाँस काट्न जाँदा, खेतबारीमा काम गर्दा टोक्ने गर्छन् । जङ्गल, झाडीमा जाँदा पहिले सर्प छ कि छैन भने र जाँच गरेर मात्र घाँस वा खेतबारीमा काम गर्न सुरु गर्न चिकित्सकको आग्रह छ ।

घाँस काट्दा होस् खेतबारीमा काम गर्दा बुट र पन्जा लगाउनाले पनि सर्पको टोकाइबाट बच्न सकिने चिकित्सक बताउँछन् । अँध्यारो ठाउँमा बत्ती बालेर मात्र जाने उनीहरूको सुझाव छ । सर्पले टोकेपछि “एन्टी स्नेक भेनम सेरम” मलम सरकारले सर्पदंश केन्द्रबाट निःशुल्क वितरण गर्दैआएको छ ।

प्रकाशित मिति : २०८१ असार २ गते, आईतवार


Scroll to Top

Janata Media