महिला एसिया कपः भारतसँग पराजित भएसँगै नेपालको एसिया कप यात्रा टुंगियो

जनता संवाददाता
२०८१ श्रावण ९ गते, बुधबार

काठमाडौँ । महिला एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाटै घर फर्किएको छ। समूह चरणको अन्तिम खेलमा मङ्गलबार साँझ श्रीलङ्काको डम्बुला मैदानमा बलियो प्रतिद्वन्द्वी भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको यात्रा टुंगिएको हो। तीन खेलमा एक जित र दुई हार खाएको नेपाल समूह चरणबाटै बाहिरिएको हो।

समूह चरणको अन्तिम खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको भारतले नेपाललाई १७९ रनको चुनौती दिएको थियो। मात्र तीन विकेटको क्षतिमा भारतले नेपालविरुद्ध १७८ रनको विशाल रन बनाएको हो।

भारतका लागि शफाली वर्मामाले शानदार अर्धशतक प्रहार गरिन्। उनले ४८ बलको सामना गर्दै १२ चौकाको मद्दतमा ८१ रन बनाएकी हुन्। दयालन हेमलताले ४७ रन बनाउँदा जेमिमाह रोड्रिग्जले नटआउट २८ रन जोडेकी थिईन्।

नेपालका लागि सीता राना मगरले दुई र कविता जोशीले एक विकेट हात पारिन्।

१७९ रनको लक्ष्य पछ्याएको नेपालका लागि सीता रानामगरले सर्वाधिक १८ रन जोडिन्। रुबिना क्षेत्रीले १५, इन्दु शर्माले १४, सम्झना खड्का ७, कविता कुवर ६, डोली भट्ट ५, कविता जोशीले दुई रन बनाउँदा पूजा महतो शून्यमै आउट भईन्। बिन्दु रावलले नटआउट १७ रन बनाउँदा सबनम राईले १ रन जोडिन्। नेपालले ९ विकेटको क्षतिमा ९६ रन बनाएको हो।

भारतका लागि दिप्ती शर्माले तीन विकेट हात पारिन्। अरुन्धती रेड्डी र राधा यादवले दुईदुई विकेट हात पार्दा रेणुका सिंहले एक विकेट लिईन्।

पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो। समूह ‘ए’बाट नेपाल र यूएई बाहिरिँदा भारत र पाकिस्तान सेमिफाइनल प्रवेश गरेका छन्। भारत समूहको विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्। यो समूहबाट सेमिफाइनल पुग्ने टिमको टुंगो बुधबार लाग्नेछ। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।

समूह ‘बी’को श्रीलङ्का चार अङ्कसहित शीर्ष स्थानमा छ। थाइल्याण्ड र बङ्गलादेश समान दुई अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन्। यो समूहको मलेसिया अङ्कविहीन छ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला एसिया कप टोलीमा पूर्व कप्तान रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट सहभागी थिए।

प्रकाशित मिति : २०८१ श्रावण ९ गते, बुधबार


Scroll to Top

Janata Media