काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो दलबाट सरकारमा सहभागी रहनुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष सामुहिक राजीनामा बुझाएका छन् ।
त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहनुभएका उनीहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिएका थिए । मङ्गलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो । सो अवधिमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिनु भएपछि एमालेका सबै मन्त्रीहरुले आज अपराह्न प्रधानमन्त्री प्रचण्डसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्।
यसअघि पार्टी अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री प्रचण्डलाई पठाएका थिए । प्रधानमन्त्री प्रचण्डले पदबाट राजिनामा नदिनु भएपछि एमाले मन्त्रीहरुले राजिनामा बुझाउनु भए पनि माओवादी केन्द्रको बैठकले प्रधानमन्त्रीलाई संसद बैठकमा विश्वासको मत लिन सुझाव दिएको छ ।







