बाँकेमा चट्याङले दुई महिलाको मृत्यु

जनता संवाददाता
२०८१ असार २६ गते, बुधबार

काठमाडौँ। बाँकेमा चट्याङ लागेर मङ्गलवार बेलुकी धान रोपिरहेका दुई महिलाको मृत्यु भएको छ। अर्की एक महिला घाइते भएकी छिन्।

जिल्लाको राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा मङ्गलवार बेलुका ६ बजेर ३० मिनेटमा चट्याङ खस्दा गम्भीर घाइते भएकी तीन महिला मध्ये दुई महिलाको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

उनका अनुसार नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३३ वर्षीया वसन्ती उपाध्याय रहेका छन्। चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छन् ।

उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चट्याङ लागेर घाइते भएका तीनै जना महिलालाई प्रहरीले तत्काल उपचारका लागि कोहलपुर पुर्‍याएको थियो ।

प्रकाशित मिति : २०८१ असार २६ गते, बुधबार


Scroll to Top

Janata Media