पहिरोमा पुरिएका ५ को खोजीकार्य जारी

जनता संवाददाता
२०८१ श्रावण १३ गते, आईतवार

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा एकै घरका ३ जनासहित पहिरोमा पुरिएर ५ जना बेपत्ताको खोजीकार्य जारी रहेको छ ।

रेसेगाउँमा जीतबहादुर गुरुङको कृषि फार्मनजिक रहेको घरमा पहिरो गएपछि त्यसमा पुरिएर आइतबार बिहान ३ बजे ५ जना बेपत्ता भएका थिए । नेपाली सेना, नेपाल प्रहरी, स्थानीय र जनप्रतिनिधिसहित जेसिबीको सहायतामा ७ घण्टादेखि बेपत्ताको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

उहाँकाअनुसार पहिरोमा परी बेपत्ता हुनेहरूमा घरधनी ३७ वर्षीय जीतबहादुर गुरुङ, उहाँका श्रीमती ३५ बर्षीया कान्छीमायाँ गुरुङ, जीतबहादुर गुरुङका बुबा ६० वर्षीय सुलाल कान्छा गुरुङ, सोही वडाका ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियारको खोजी कार्य भइरहेको छ ।

पहिरोमा परी बेपत्ता भएकाहरू जेसिबी प्रयोग गर्दा समेत फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिरोमा परी जीतबहादुर गुरुङको कृषि फर्ममा भएका बाख्रा, हाँस बङ्गुर र घर समेत बगाएको छ ।

पहिरोमा पुरिएर घाइते भएका सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र फार्ममा कामदारको रूपमा काम गर्दै आउनुभएका खमबहादुर गुरुङलाई उपचारका लागि काठमाडौँ पठाइएको गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८१ श्रावण १३ गते, आईतवार


Scroll to Top

Janata Media