लागूऔषधसहित होटल सञ्चालक र म्यानेजर प्रक्राउ

जनता संवाददाता
२०८१ श्रावण १८ गते, शुक्रबार

पोखरा । लागूऔषध बिक्री गर्दै गर्दा पोखरामा होटल सञ्चालक र म्यानेजरलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराको सहयोगमा कास्की प्रहरीले पोखरा महानगरको न्युरोड स्थित होटल दीप दर्शनका सञ्चालक इन्दुदेवी श्रेष्ठ र सोही होटलका म्यानेजर मिलन पौडेललाई बुधबार साँझ पक्राउ गरेको हो।

तनहुँ शुक्लागण्डकी नगरपालिका ८ स्थायी घर भइ पोखरा–८, न्युरोडमा होटल दीपदर्शन सञ्चालन गर्ने ३७ वर्षीया इन्दुदेवी श्रेष्ठ र सोही होटलका म्यानेजर स्याङ्जा आँधीखोला गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई पोखरा १७ बिरौटा बस्ने २५ वर्षीय मिलन पौडेललाई लागूऔषध टापेन्टाडोल बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पौडेल र श्रेष्ठले होटलको कोठामा लुकाइछिपाइ राखेको लागूऔषध टापेन्टाडोल ४३ हजार दुई सय ट्याब्लेटसमेत प्रहरीले बरामद गरेको छ।

श्रेष्ठ र पौडेललाई लागूऔषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए। थापाका अनुसार बरामद भएको टापेन्टामोडलको बजार मूल्य ५० लाख जति छ।

प्रकाशित मिति : २०८१ श्रावण १८ गते, शुक्रबार


Scroll to Top

Janata Media