
काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । निरन्तरताको वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य अन्तर्राष्ट्रिय उडान पनि केही ‘डिले’ भएका छन् ।
प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ पोखरा, भरतपुर र सिमारा विमानस्थल दिउँसोसम्म पनि बन्द छन्। आन्तरिकतर्फ इन्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै भइरहेको विमानस्थलले जनाएको छ । पोखरा विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा काठमाडौँ–पोखरा कुनै पनि उडान भएको छैन । पोखरा–काठमाडौँ मात्र दुई उडान भएको छ ।
मौसमका कारण भरतपुर, पोखरा र नेपालगन्जको क्षेत्रीय उडान समेत प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । यस्तै काठमाडौँबाट तुम्लिङटारको उडान पनि रद्द भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले हाल देशभर आंशिक देखि साधरणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि महाशाखाले पूर्वानुमान गरेको छ ।