बेलायतले भन्यो, हसिनालाई शरण दिन सकिन्न

जनता संवाददाता
२०८१ श्रावण २४ गते, बिहीबार

काठमाडौँ । आरक्षणविरोधी आन्दोलनका कारण भारत पलायन भएकी बङ्गलादेशका निवर्तमान प्रधानमन्त्री सेख हसिना वाजेदले बेलायतमा शरण नपाउने भएकी छन् । बङ्गलादेशको चर्को आन्दोलन थेग्न नसकेपछि भारत पलायन भएकी हसिनाले बेलायतमा शरण दिनका लागि अपिल गरेकी थिईन् ।

उनको अपिलप्रति बेवास्ता जनाउँदै बेलायत सरकारले शरणका लागि अन्यत्र विकल्प खोज्न सुझाएको छ । बङ्गलादेशमा उत्पन्न हिंसात्मक परिस्थितिको जिम्मेवार कुनै न कुनै रूपमा हसिना भएको लक्षित गर्दै भविष्यमा हुने अनुसन्धानका कारण बेलायतमा अपेक्षित सुरक्षा प्रदान गर्न नसकिने बेलायतको विदेश मन्त्रालयले प्रस्ट पारेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता डेभिड लाम्मीले सो विषयमा व्यक्त गरेको धारणा अनुसार बेलायत सरकारले बङ्गलादेशमा सिर्जित घटनाबारे स्वतन्त्र र निष्पक्ष छानबिन होस् भन्ने चाहेको द इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ । त्यसका लागि बेलायतमा दिइने शरणले निष्पक्ष अनुसन्धानका कारण अपेक्षित सुरक्षा प्रदान गर्न नसक्ने उनले प्रस्ट्याएका छन् ।

विद्यार्थीको उग्र प्रदर्शनपछि सोमबार राजीनामा दिएर हसिना भारत पलायन भएकी थिईन् । त्यहाँबाट बेलायतमा शरण लिनका लागि प्रक्रिया सुरु गरेको थियो । भविष्यमा हुने अनुसन्धानले बेलायतबाट बङ्गलादेश फिर्ता पठाउनुपर्ने अवस्था सिर्जना गरेमा त्यो झन् अप्ठ्यारो हुने भएकाले अमेरिका, फिनल्यान्ड वा अन्य मुलुकमा शरणका लागि अपिल गर्नुपर्नेमा जोड दिइएको छ ।

बेलायत सरकारले बङ्गलादेशमा घटित घटनाको संयुक्त राष्ट्रसङ्घले स्वतन्त्र अनुसन्धान गर्नुपर्ने धारणा यसअघि नै दिएकाले पनि हसिनालाई त्यहाँ शरण लिन अप्ठ्यारो परेको हो ।

प्रकाशित मिति : २०८१ श्रावण २४ गते, बिहीबार


Scroll to Top

Janata Media