अखिल क्रान्तिकारीको निर्वाचन आज

जनता संवाददाता
२०८१ माघ १२ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको शनिबार निर्वाचन हुँदै छ ।

अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान हुने भएको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले विद्यार्थी नेतृत्व चयनका लागि सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट प्रतिनिधिले नेतृत्व चयन गर्न मतदान गर्ने जानकारी दिए । उनले भने, “सबै प्रतिनिधिले आ–आफ्नो अनुकूलतामा प्रदेशबाट मतदानगर्ने छन् ।

शनिबार रातिबाटै सम्बन्धित प्रदेशबाट मतगणना सुरु गरिने छ ।” शर्माले अखिल क्रान्तिकारीको ३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य निर्वाचित हुन दुई हजार ३९८ जना प्रतिनिधिले मतदान गर्ने बताए । उम्मेदवारका विषयमा दाबी विरोधपछि २० जनाको उम्मेदवारी निर्वाचन समितिले रद्द गरिसकेको छ ।

उम्मेदवार कायम रहेकामध्ये एक अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा रहेका छन् ।

खुला र आरक्षण गरी नौ जना उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठ जनाको उम्मेदवारी परेको छ । महासचिवमा पद्मप्रसाद काफ्ले, प्रतीक कार्की, श्यामबहादुर मिजार, रोशन थापामगर, सञ्जीव फुयाल, तिर्सना हमाल, शिव बस्नेत र सञ्जयकुमार महतो रहेका छन् ।

यस्तै नौ उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जनाको उम्मेदवारी परेको छ । एक कोषाध्यक्ष पदका लागि पार्वता चौलागाई, शिव श्रेष्ठ, महेन्द्रबहादुर चन्द र फूलमाया रानामगर रएको निर्वाचन समितिले जनाएको छ । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद कायम भएपछि विद्यार्थी नेताले आ–आफ्नो गुटबाट प्यालन बनाएर उम्मेदवारी घोषणा गरेका छन् ।

प्रकाशित मिति : २०८१ माघ १२ गते, शनिबार


Scroll to Top

Janata Media