इराकमा विवाहका लागि केटीको उमेर ९ वर्ष र केटाको उमेर १५ वर्ष !

जनता संवाददाता
२०८१ श्रावण २५ गते, शुक्रबार

बगदाद । इराकले केटीहरूको बिहे गर्ने कानुनी उमेर घटाएर ९ वर्षमा झार्ने भएको छ । त्यहाँको संसदमा केटीको बिहे गर्ने कानुनी उमेर घटाउने प्रस्तावित विधेयक पेस गरिएको छ । अहिले यो उमेर १८ वर्ष छ । यो संशोधन विधेयक पारित भयो भने कानुनले केटीलाई ९ वर्ष र केटालाई १५ वर्षकै उमेरमा बिहे गर्न अनुमति दिनेछ । यसले बाल विवाह र शोषणको चिन्ता बढाएको छ ।

यसले महिलाको अधिकार र लैङ्गिक सवालमा भइरहेको प्रगतिलाई उल्ट्याउने तर्क आलोचकहरूले गरिरहेका छन् । मानव अधिकारीवादी संघसंस्था, महिला अधिकार समूह र नागरिक समाजका अभियन्ताहरूले यो विधेयकको कडा आलोचना गरिरहेका छन् ।

यसले बालिकाहरूको शिक्षा, स्वास्थ्य र समृद्धिमा नकारात्मक असर गर्ने, विद्यालयको पढाई बिचमै छाड्नेको सङ्ख्या बढाउने र सानो उमेरमै गर्भधारण गर्ने किशोरीको सङ्ख्या बढाउने र घरेलु हिंसाका घटनाहरू पनि बढ्ने चेतावनी उनीहरूले दिइरहेका छन् । इराकमा अहिले नै २८ प्रतिशत केटीहरूले १८ वर्ष नपुग्दै बिहे गर्ने गरेको युनिसेफले बताएको छ ।एजेन्सी

प्रकाशित मिति : २०८१ श्रावण २५ गते, शुक्रबार


Scroll to Top

Janata Media