पहिरोले मुगुको गमगढी-तारापानी-सोरुकोट सडक दुई हप्ता देखि अवरुद्ध

जनता संवाददाता
२०८१ श्रावण ३० गते, बुधबार

मुगु । अविरल बर्षाका कारण पहिरोले सडक लगेपछि गमगढी-तारापानी-सोरुकोट सडक दुई हप्ताबाट अवरुद्ध भएको छ ।

सोरु गाउँपालिका वडा न ८ मा रहेको आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट आएको पहिरोले सडक नै लगेपछि २ हप्ता देखि गमगढी-सोरुकोट सडक अवरुद्ध हुँदै आएको हो ।

सडक अवरुद्ध भएपछि सिङ्गो सोरु गाउँपालिकाका जनतालाई जिल्ला सदरमुकामसम्म र सदरमुकामबाट सोरु गाउँपालिका तिर आउजाउ गर्न समस्या हुँदै आएको छ । पहिरोले करिब १० मिटर सडक लगेर नाम निसान समेत राखेको छैन,अहिले मानिसहरू गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउँसम्म आउने र त्यहाँबाट पहिरोलाई छल्दै दौडेर पहिरो पार गरि पारिपट्टि रहेका सोरुकोट तारापानीबाट आएका जिप चढेर जाने आउने गर्दै आएका छन् ।

तन्नेरी युवा युवतिहरू त माथिबाट खस्ने माटो,ढुङ्गा छल्दै १०० मिटर पहिरो पार गर्दै आएका छन् तर महिला,बालबालिका,ज्येष्ठ नागरिक र अशक्त,बिरामीहरूलाई भने पहिरो पार गर्न कठिनाइ हुँदै आएको र सोरुबासीहरु सो स्थानमा जोखिमपूर्ण यात्रा गरिरहेको सञ्चारकर्मी सर्जन बहादुर शाहिले जानकारी गराए ।

सञ्चारकर्मी शाहिले दिएको जानकारी अनुसार पालिकाले सोरु र छायानाथ रारा नगरपालिका सिमाना पातिहाल्ना देखि पहिरो गएको स्थानसम्म एक्स्काभेटर लगाएर साना तिना पहिरा हटाएर पनि आशिधारा खोलाको पहिरो पन्छाएर सडक बनाउन सकिँदैन भनेर स्काभेटर फर्किएको थियो ।

गमगढी(तारापानी(सोरुकोट र तारापानी(धैन(दोमुख सडक कर्णाली प्रदेश सरकार मातहतको सडक हो । बर्षाको बेला आउने अवरोध हटाउने र सडक स्त्तरौन्नती,सुरक्षित र मापदण्ड अनुसार बनाउने जिम्मेवारी कर्णाली प्रदेश सरकारको भएपनी त्यो तर्फ कर्णाली प्रदेश सरकारको ध्यान नदिँदा बर्सेनि सडक अवरुद्ध हुँदा सोरुबासिहरु जोखिम मोल्न बाध्य छन् ।

प्रकाशित मिति : २०८१ श्रावण ३० गते, बुधबार


Scroll to Top

Janata Media