बालेन र सुनितालाई जोडेर भिडियो बनाएको आरोपमा एक व्यक्ति पक्राउ

जनता संवाददाता
२०८१ भाद्र २ गते, आईतवार

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबाट विशिष्ट व्यक्तिहरूको नक्कली भिडिओ बनाएको आरोपमा एक जना पक्राउ परेका छन्। बाजुरा खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ का २२ वर्षीय रमेशबहादुर रावत पक्राउ परेका हुन्।

उनलाई साइबर ब्युरोको प्राविधिक टोलीले साउन ३२ गते सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो।

उनले एआईको दुरूपयोग गरी विशिष्ट व्यक्तिहरूको चरित्रमा निर्मम आघात पुर्‍याउने तथा कपोकल्पित भ्रामक श्रश्य दृश्य सामग्री तयार गरेको आरोपमा पक्राउ गरिएको साइबर ब्युरोको प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले जानकारी दिए।

उनीविरूद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को कसूर अनुसार काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।

केही दिन अगाडि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई जोडेर बनाइएको एआई भिडिओ भाइरल भएको थियो।

प्रकाशित मिति : २०८१ भाद्र २ गते, आईतवार


Scroll to Top

Janata Media