भ्रष्टाचारको मुद्दामा कुनै किसिमको हदम्याद राख्न मान्य छैन: रवि लामिछाने

जनता संवाददाता
२०८१ भाद्र ६ गते, बिहीबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद लागू हुन नदिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद लामिछानेले सरकारले भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद राख्ने विधेयकप्रति आपत्ति जनाए । उनले भने, “भ्रष्टाचारको कुनै पनि हदम्याद मान्य हुनेछैन । यस विषयमा ‘नो इफ, नो बट’ हाम्रो कुरा ‘क्लियर कट’ ।” सरकारले नीतिगत भ्रष्टाचारको विषयमा परिभाषा समेत प्रस्ट पार्नुपर्ने सभापति लामिछानेले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले आफ्नो पार्टी भ्रष्टाचारीलाई छुट दिनु हुँदैन भन्नेमा प्रस्ट रहेको बताए । उनले भने, “भ्रष्टाचारीलाई छुट दिनुहुँदैन । हदम्याद राख्नुहुँदैन भन्नेमा हामी प्रस्ट छौँ ।”

नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले देशमा ८२ प्रतिशत स्थानमा बस्ती प्राकृतिक विपत् ग्रस्त क्षेत्र भएको उल्लेख गर्दै विपत्तिमा भूकम्पबाट पीडित जाजरकोटवासीलाई तुरुन्तै अस्थायी आवासको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरु सुमना श्रेष्ठ, राजकिशोर यादव, सुशीला थिङ, सरस्वती बजियम, रामकुमार राई, अमरेशकुमार सिंह, शङ्कर भण्डारी, प्रेमबहादुर महर्जन, ईश्वरबहादुर रिजाल, मैना कार्की, अब्दुल खान, रामहरि खतिवडालगायतले विपत् व्यवस्थापन र सवारी दुर्घटना जोखिम न्यूनीकरणका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।रासस

प्रकाशित मिति : २०८१ भाद्र ६ गते, बिहीबार


Scroll to Top

Janata Media