काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका भित्र निर्माणाधीन आठ वटा जलविद्युत आयोजनाका कारण गाउँपालिकाका चार वटा वडाका सर्वसाधारणमा स्वास्थ्य समस्या थपिएको छ ।
बिहानै देखि गाडी कुद्न थाल्दासाथ धुलोले गाउँघर नै पुरै छोप्ने रघुगंगा गाउँपालिका–३ का रामजी शर्माले बताए । सडक धुलै धुलो छ त्यस माथि पनि भारी लोड बोकेका गाडीहरू गुड्ने गरेकाले धुलो गाउँलेको भान्सासम्म पुग्दा हैरानी मात्र हैन विरामी नै पर्ने गरेको उनी बताउँछन् । कमसेकम सडकमा दैनिक दुई तीन पटक पानी छम्किन सकिन्छ तर ठेकेदार वास्ता गर्दैन उल्टै गाउँलेको कुरालाई नसुनेझै गर्छ । यसरी अटेर गरेर काम गर्ने हो भने हामी गाडी रोक्न बाध्य हुनु पर्ने उनी बताउँछन् ।
हरेक दिन सरसफाइ गर्दा पनि घरमा धुलो जम्मा भएकै हुन्छ । घरमा धुलो जम्मा हुने र सरसफाइको समस्या मात्रै नभएर रुघा खोकीका बिरामीहरू पनि बढ्ने गरेको उनको भनाई छ । रघुगंगा गाउँपालिका–३ का वडा सदस्य समेत रहेका उनले भने–‘गाउँपालिकामा जलविद्युतका प्रतिनिधिहरूको संयुक्त बैठक बसेर ग्राभेल गर्ने, नियमित दिनमा आवश्यकता अनुसार पानी हाल्ने सहमति भएको हो तर कार्यान्वयनको पाटोमा अगाडी बढेन ।’
नियमित रूपमा बिहानै देखि गाडी दौडँदा धुलाम्मे सडकले उडाउने धुलोका कारण कयौँ नागरिकहरू बिरामी परिरहने समस्या भएको छ । अहिलेको अवस्था हेर्ने हो भने पनि सडकको धुलोका कारण गाउँका हरेक जसो मानिसहरू बिरामी पर्ने समस्या भएको वडा सदस्य शर्माको भनाई छ । मानिसमा मात्रै नभएर पशु चौपायामा समेत समस्या देखिएको उहाँले जानकारी दिए । ब्याउने भएका पशु चौपाया तुहिने समस्या तथा बिरामी परी रहने गर्दा किसानहरूलाई पनि आर्थिक व्ययभार थपिएको उनको तर्क छ ।
रघुगंगा गाउँपालिका भित्र मात्रै ८ वटा जलविद्युत आयोजनाको निर्माण कार्य भै रहेको छ । विद्युत् विकास बोर्डको तथ्याङ्क अनुसार सरकारी स्वामित्वको ४० मेघ वाटको रघुगंगा जलविद्युत आयोजना रहेको छ । त्यस्तै निजी क्षेत्रका ३७ मेघ वाटको राहुघाट मंगले, ४८ मेघ वाटको अपर राहुघाट, २१ दशमलव ३ मेघ वाटको ठुलो खोला हाइड्रो प्रोजेक्ट, पाँच दशमलव पाँच मेघ वाटको बगर खोला जलविद्युत, साढे २२ मेघ वाटको माथिल्लो ठूलोखोला, चार दशमबल ७५ मेघ वाटको साइनो खोला र चार दशमबल ७५ कै तल्लो ठूलोखोला जलविद्युत आयोजना सञ्चालित छन् ।
रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीले धुलोकै कारण नियमित रूपमा दैनिक पाँच सात जना रुघाखोकीका बिरामीहरू रघुगंगा गाउँपालिका भित्रका स्वास्थ्य चौकीहरुमा आउने उनको भनाई छ । धुलोका कारणले गर्दा रुघाखोकी तथा दमका बिरामीहरू बढेको उनको भनाई छ । उहाँका अनुसार रघुगंगा गाउँपालिका–३ पिप्ले, ४ दगनाम, ७ चिम खोला तथा ८ नम्बर कुइनेमंगले सम्म पनि धुलोका कारण स्वास्थ्य समस्या देखिएको छ । यस क्षेत्रमा आठ वटा जलविद्युत आयोजना निर्माणाधीन रहेको तथा कच्ची सडकमा सवारी चापले गर्दा अत्यधिक धुलोका कारण स्थानीयहरू बिरामी पर्ने गरेको उहाँको तर्क छ ।
नेपाली काँग्रेस म्याग्दीका उपसभापति एवम् रघुगंगा गाउँपालिकाका बासिन्दा केबी भण्डारीले जलविद्युत आयोजनाहरूलाई गाउँपालिकामा बोलाएरै सडकमा हुने धुलोको समस्या समाधानका लागि प्रयास गरे पनि उनीहरूले अटेरी गरेको बताए । त्यस क्षेत्रमा रहेका जलविद्युतका प्रतिनिधिलाई राखेरै समस्या समाधानका लागि प्रयास गरेको हो तर उनीहरूले अटेरी गर्दा मानव स्वास्थ्यमा निकै ठुलो समस्या परेको छ–उनले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जलविद्युतका प्रतिनिधिले गाउँपालिकामा आएर सडकमा हुने धुलोको समस्या समाधानका लागि संयुक्त प्रयास गर्ने सहमति गरेको भए पनि त्यसको कार्यान्वयनको पाटो भने अलिक नपुगेको बताए । सहमति भएको छ तर उनीहरूले सहमति पालना गरेको जस्तो भने देखिएको छैन–उनले भने ।







