काठमाडौँ । आर्थिक रुपमा विपन्न दलित परिवारमा जन्मेर संस्कृत विषयमा आचार्य (स्नातकोत्तर) गर्न सफल भएका आचार्य कृष्ण दमाईलाई धनगढी उपमहानगरपालिकाले शनिबार बाजागाजा सहित भव्य रुपमा सम्मान गरेको छ।
धनगढी उपमहानगरको परिसरमा उनलाई बाजागाजा सहित सम्मान गरिएको हो। नगर सभा हलमा आयोजित समारोहमा उनलाई फुलमाला, सम्मान पत्र र नगद १ लाख ५१ हजार सहित नगर प्रमुख गोपाल हमालले सम्मान गरे।
सुदूरपश्चिम प्रदेशमै जन्मेको दमाईको छोरोले कर्मले मान्छे महान् हुन्छ भन्ने सन्देश दिन सफल भएकोमा खुसी लागेको उनले सुनाए।
भीमदत्त नगरपालिका वडा नं-३ बस्ने कृष्णको यस अघि पशुपति नाथ मन्दिर परिसरको बनकालीमा आयोजित कोटीहोममा प्रवचन गरेपछि चर्चा चुलिएको थियो।







