काठमाडौं । बागलुङको लामो पुलको अवलोकन गर्ने पर्यटकको भिड लागेको छ । प्रसिद्ध बागलुङ–कालिका भगवती मन्दिरनजिक कालिगण्डकी नदीमाथि निर्माण गरिएको पाँचसय ६७ मिटर लामो गण्डकी गोल्डेन ब्रिजले यतिखेर पर्यटक आकर्षित गरिरहेको छ ।
मुस्ताङ भ्रमणका लागि आएका अधिकांश पर्यटकले पुलको अवलोकन गर्ने गर्दछन् । कालीगण्डकी नदीमाथि बनेको उक्त पुलबाट देखिने प्राकृतिक सौन्दर्य पनि मनमोहक छ ।
बागलुङ नगरपालिका –१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका –१ अदुवाबारी जोड्ने पुल पर्यटकको आकर्षणको केन्द्र बनेको छ । दशैं, तिहार र छठ विदाको अवसरमा भ्रमणमा निस्किएका आन्तरिक पर्यटकका कारण झोलुङ्गे पुलमा भिडभाड बढेको छ । झोलुङ्गे पुलले पछिल्लो समय बागलुङ भित्रिने पर्यटकलाई लोभ्याउने गर्छ ।
कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल घुम्न आउने पर्यटकको संख्या अहिले बढेको छ । पुलमा रमाउने र फोटो खिच्ने पर्यटक दैनिक देख्न सकिन्छ ।
पुलबाट धौलागिरी हिमाल र कालिगण्डकी नदीको सुन्दरता अवलोकन गर्न सकिन्छ । साँझको समयमा पनि पुल अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् । रातको समयमा पुलमा जडान गरिएको बत्तिको झिलिमिली देखेर पर्यटकहरु आकर्षित हुने गरेका छन् ।
पुल निर्माणसँगै यहाँ आउने पर्यटकले बागलुङको पर्यटन विकासमा थप टेवा पुगेको बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । उनका अनुसार लामो र अग्लो पुल, बागलुङ कालिका भगवती मन्दिर र पञ्चकोट धामका कारण बागलुङमा पर्यटकको चहलपहल बढेको उनले बताए ।