काठमाडौँ । शनिबार यूथ कनक्लेभ(२०२४ समारोहका सहभागीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले धेरै पदमा देशको पहिलो महिला दिएको दाबी गर्दै अब प्रधानमन्त्री पनि बनाउने घोषणा गरेका छन्।
‘म यस्तो सौभाग्यशाली मान्छे हुँ जसले देशको पहिलो राष्ट्रपति महिला बनायो, पहिलो प्रधानन्यायाधीश महिला बनायो, सभामुख महिला बनायो, मेरै पालामा भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘र, पहिलो रक्षा मन्त्री महिला बनायो, अहिले भर्खरै मौका पाउने बितिक्कै पहिलो मुख्यसचिव महिला बनाएँ।’
अब प्रश्नकर्ताले भनेजस्तै छिट्टै महिला प्रधानमन्त्री बनाउन चाहेको ओलीले बताए। उनले भने, ‘अब म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ।’
वास्तविकतामा कुरा गर्दा ‘दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्ने’ उनले बताए। ‘तर छिट्टै बनाउने तयारी बारेमा सोचिराख्या छु,’ प्रधानमन्त्री ओलीले भने।
यस्तै, आफूले महिलाका लागि धेरै कामहरू गरिरहेको पनि प्रधानमन्त्री ओलीले दाबी गरे। ‘अहिले मैले एउटा रुल लगाएको छु कि पुरुष मात्रैको ‘डेलिगेसन’ एक जना मात्रै बोलाएको छ भने बेग्लै कुरा विदेश जान अथवा कतै ‘डेलिगेसन’ भएर जान मिल्दैन। ‘डेलिगेसन’ मा महिला सामेल भएकै हुनुपर्छ,’ उनले भने, ‘त्यो रुल अहिले मैले सरकारको बनाएको छु।’
उनले महिलालाई ३३ प्रतिशत आरक्षणको दिलाउन पनि आफ्नो महत्त्वपूर्ण भूमिका रहेको बताए।







