काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पछिल्लो समय सडकमा भइरहेका गतिविधिहरुका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताएका छन् ।
सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफू नरहेको स्पष्ट पारेका हुन् ।
उनले भने, ‘हामी कुनैपनि प्रकारको अराजकता, गलत क्रियाकलापको विपक्षमा छौँ । तर राज्य कमजोर हुन्छ, राज्य जिम्मेवारीबाट विमुख हुन्छ, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनतको सुख सुविधाभन्दा सत्ता केन्द्रित बन्न थाल्छन्, देशले यस्ता अराजकता व्यहोर्नुपर्ने नै हुन्छ ।’
उनले यस्ता गतिविधिमा अराजक क्रियाकलाप गर्नेहरुभन्दा जनताका समस्यालाई अन्देखा गर्ने, समस्याको र अहिलेको अस्थिरताको जगको, जडको रुपमा रहेका राजनीतिक दलहरु बढी जिम्मेवार हुन आवश्यक रहेको बताए ।
‘सडकमा त्यस प्रकारका अराजक क्रियाकलाप गर्नेहरु भन्दा जनताका समस्यालाई अन्देखा गर्ने, यो समस्याको र अहिलेको अस्थिरताको जगको, जडको रुपमा रहेका राजनीतिक दलहरु बढी जिम्मेवार हुनुपर्छ।’ उनले भने ।
उनले अराजकता र गलत क्रियाकलापको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी नरहेका भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रकारको अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन नगर्ने प्रतिवद्धता जनाए ।
उनले भने, ‘अराजकता र गलत क्रियाकलापको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रकारको अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन गर्दैन।’







