बल्दे–अम्कोट सडक मर्मत कार्य तीव्र

जनता संवाददाता
२०८१ भाद्र ८ गते, शनिबार

काठमाडौं । बाजुराको साँफे–मार्तडीअन्तर्गत पर्ने बल्दे–अम्कोट सडकको मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको छ । गत वर्ष लामो समयदेखि अवरुद्ध बन्दै गएको यो सडक अवरुद्ध नहुनदिने गरी सडक डिभिजन कार्यालय अछामले मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको हो ।

बर्खाको समय पटक–पटक अवरुद्ध हुँदै आएको बल्दे अम्कोट सडक बर्खाको समयमा पनि अवरुद्ध नहुने गरी मर्मत कार्यलाई तीव्र रूपमा अघि बढाइएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

बुढिगंगा नगरपालिकाको १ र २ बिचमा रहेको बल्दे अम्कोट सडकलाई बर्खाको समय पनि अवरुद्ध हुन नदिने गरी यती बेला यसको मर्मत कार्यलाई निरन्तरता दिँदै आएको सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले बताए ।

उनले भने, “गत वर्ष यही ठाउँमा पहिरो गएर पटक–पटक सडक अवरुद्ध बन्दै गएको थियो । यो वर्ष यही ठाउँमा डोजर राखेर दैनिक पहिरो पन्छ्याउँदै गएपछि यती बेला यो सडक दैनिक सुचारु हुँदै आएको छ ।”

बर्खाको समय लगातार परेको पानीका कारण बल्दे अम्कोट सडकमा पहिरो जाने क्रम जारी भएको भए पनि यती बेला त्यो ठाउँमा डोजरले दैनिक सफाइ गर्दै आएपछि यो वर्ष भने साँफे–मार्तडी सडक नियमित सुचारु भएको गिरीले बताए ।

विगतका वर्षमा बल्दे अम्कोटमा पहिरो जाँदा यहाँका स्थानीयले मार्तडीसम्म आउजाउ गर्न समेत निकै सास्ती खेप्दै आउनुपरेको बुढिगंगा नगरपालिकाको २ बल्देका बजारका व्यापारी वीरबहादुर थापाले बताए ।

उनले भने, “त्यति मात्र होइन बल्दे अम्कोट सडक लामो समयसम्म अवरुद्ध भएकाले गत वर्ष दसैँको समयमा मार्तडी कोल्टीका व्यापारीहरूले भरियामार्फत दैनिक उपभोग्य सामग्री ढुवानी गरेका थिए ।”

यती बेला सडक डिभिजन कार्यालय अछामले बर्खाको समयमा पनि बल्दे अम्कोट सडक अवरुद्ध हुन नदिने गरी दुई वटा डोजर त्यसै ठाउँमा राखेर दैनिक पहिरो पन्छ्याउँदै गएपछि अहिले बर्खाको समयमा पनि सडक नियमित सुचारु हुँदै आएको थापाले बताए ।

साँफेदेखि मार्तडीसम्म झण्डै ५७ किलोमिटर रहेको यो सडक बाजुराको इकडीदेखि मार्तडीसम्म झण्डै ४२ किलोमिटर रहेको छ ।

२०७१ सालदेखि २०७५ सालसम्म साँफे–मार्तडी सडक कालोपत्रेको काम सकिए पनि त्यसलाई २०७६ सालमा सडक डिभिजन कार्यालय अछामले स्वीकृत गरेको थियो ।

सडक कालो पत्रेको काम पूरा गरेर डिभिजन कार्यालय अछामलाई बुझाइएको एक वर्ष भित्रमै अम्कोट–बल्दे सडकमा गएको पहिरोका कारण फेरि यो सडक बर्खाको समय अवरुद्ध बन्दै गएको थियो ।

त्योसँगै यती बेला सो सडकको बार्जुगाड, ताँप्रीसेरा, बल्दे र अम्कोट, पानी नाउँला लगायतका ठाउँमा समेत अहिले पहिरोका कारण सडक अवरुद्ध हुने गरेका छन् ।

यहाँ प्रायः भिरालो तथा पाखो ठाउँ भएकाले सो सडकको तलमाथिबाट पहिरो जाने गरेकाका कारण बर्खामा सधैँ सडक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते, शनिबार


Scroll to Top

Janata Media