विस्फोटक पदार्थ पड्किँदा तीन बालबालिका घाइते

जनता संवाददाता
२०८१ भाद्र १३ गते, बिहीबार

काठमाडौं । पाँचथरको फालेलुङ ५ मा विस्फोटक पदार्थ पड्किँदा तीनजना बालबालिका घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय दिलिम साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा, अढाइ वर्षकी छोरी प्रिन्सा साँवा र स्थानीय ९ वर्षीय पवन राई रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। घट्ना दिँउसो साढे दुई बजे भएको हो ।

बालबालिका खेलिरहेका बखत ठुलो आवाजमा पड्किँएको सुनेपछि भेला भएका स्थानीयले घाइते अवस्थामा भेटेका थिए ।

घाइते मध्ये पवन राईको अवस्था सामान्य छ। खेलिरहेका बखत भेटेको फुटवल जस्तो देखिने वस्तु पड्केको घाइते राईले बताए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार घाइते तीनै जनालाई उपचारार्थ पाँचथर अस्पताल ल्याइदैछ भने घट्नाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट टोली परिचालन गरिएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १३ गते, बिहीबार


Scroll to Top

Janata Media