ताप्लेजुङमा चार दिनपछि विद्युत आपूर्ति

जनता संवाददाता
२०८१ आश्विन १५ गते, मंगलवार

काठमाडौं । चार दिनदेखि अन्धकार रहेको ताप्लेजुङ जिल्लामा विद्युत आपूर्ति सुचारु भएको छ। शनिबार रातिदेखि अवरुद्ध बनेको विद्युत सेवा मङ्गलबार दिउँसो ४ः४० बजेपछिबाट सुचारु भएको हो ।

अविरल वर्षासँगै गएको पहिरो र बढीका कारण इलाम खण्डमा काबेली कोरिडोरको टावर पोल (खम्बा) ढलेपछि विद्युत सेवा अवरुद्ध बनेको थियो । विद्युत सेवा अवरुद्ध हुँदा ताप्लेजुङ, पाँचथर इलाम जिल्ला अन्धकारमय भएको थियो ।

नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रका अनुसार १३३ केभी पुरानो प्रसारण लाइनलाई मर्मत गरेपश्चात् विद्युत् सेवा सुचारु भएको हो । अहिले तीनवटै जिल्लामा विद्युत आपूर्ति सुचारु भएको पनि वितरण केन्द्रले जनाएको छ । बाढीपहिरोले ढालेका काबेली कोरिडोरका पोल निर्माण गर्न भने कम्तीमा दुईरतीन महिना लाग्ने बताइएको छ ।

यता विद्युत आपूर्ति बन्द हुँदा सदरमुकाम फुङ्लिङसहित सिङ्गो प्रभावित बनेको थियो । उज्यालो बत्तीसँगै विद्युतको प्रयोगबाट गर्नुपर्ने सबै सेवाहरू प्रभावित बनेका थिए । बैङ्किङ कारोबार ठप्प भएको थियो । विद्युतका कारण एटिएम, चेक सटही, नगद जम्मा गर्नेसहित बैङ्किङ ठप्प हुँदा उपभोक्ता तथा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको थियो ।

जिल्लामा सञ्चालित कलकारखाना, उद्योग धन्दा प्रभावित बनेका थिए भने सरकारी तथा गैरसरकारी कार्यालयका सेवा प्रवाहमा समेत समस्या आएको थियो । अब विद्युत आपूर्ति सुचारु भएपछि जिल्लाको जनजीवन सामान्य बन्ने छ ।

प्रकाशित मिति : २०८१ आश्विन १५ गते, मंगलवार


Scroll to Top

Janata Media