हिमालीका घर–घरमा खानेपानीका धारा आएपछि स्थानीय खुसी

जनता संवाददाता
२०८१ भाद्र २२ गते, शनिबार

बाजुरा । जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–२ को नातीखोला टोलमा एक घर एक धारा निर्माण भएपछि यहाँका स्थानीयको मुहारमा खुसी छाएको छ ।

दिनहुँ एक घण्टा हिँडेर खोलाको धमिलो पानी खान बाध्य भएका यहाँका स्थानीयको घरघरमा खानेपानीको धारा निर्माण भएपछि उनीहरूको मुहारमा खुसी छाएको हो ।

अहिले घरको आगनमै स्वच्छ सफा खानेपानीको धारा निर्माण भएर पानी खान पाएपछि मनमा निकै खुसी छाएको हिमाली गाउँपालिका –२ नातिखोला टोलकी स्थानीय ज्येष्ठ नागरिक बिसुकला बुढा बताए ।

उनले भने , “यो भन्दा पहिला दिन रात पानी ल्याउन कै चिन्ता हुन्थ्यो । घरको आँगनमै सफा खाने पानी पुगेपछि त्यो चिन्ता हटेको छ ।’’

पानी नहुँदा सधैँ फोहोर हुने गरेका यहाँका शौचालय पनि घरमा खानेपानीको धारा निर्माण भएपछि सफा हुन थालेको बुढाको भनाइ छ ।

‘‘गाउँमा पानी नभएकै कारण बुहारी पाउन समेत निकै गाह्रो हुन्थ्यो । यती बेला घर घरमा धारा निर्माण भएपछि यहाँको महिलाहरूको त्यो समस्या हटेको छ ।’’ स्थानीय धर्मकला बुढाले बताए ।

आर्थिक वर्ष २०७८र७९ सालमा प्रदेश सरकारको १२ लाख रकममा नातीखोला टोलका ४० घरमा खानेपानीको धारा निर्माण गरिएको नातीखोला खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष माना बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँदेखि झण्डै तीन किलोमिटर टाढा नातीखोलामा खानेपानीको मुहान थियो । त्यसै मुहानदेखि गाउँमा खानेपानी ल्याएको हो । यो पानीले अहिले यसका झण्डै ४० घरपरिवारलाई खानका लागि पानी प्रशस्त पुगेको छ ।”

नातीखोलाको मुहानबाट ल्याएको पानी गाउँमाथि एक ट्याङ्की हालेको छ । अहिले त्यो ट्याङ्कीबाट यहाँका ४० परिवारको घरमा निर्माण गरिएको धारामा नियमित पानी आउने गरेको बुढाले बताए ।

पुस्तौँदेखि गाउँमा खानेपानीको समस्या झेल्दै आएका यहाँका स्थानीयको यती बेला घरघरमा खानेपानीको धारा निर्माण कार्य सम्पन्न भएको हिमाली गाउँपालिका –२ का वडा अध्यक्ष रणबहादुर बुढाले बताए ।

यहाँका स्थानीयको पहिलो प्राथमिकता सडक खानेपानी स्वास्थ्य शिक्षा भएकाले सोही अनुसार गाउँपालिकाले प्रत्येक वर्षमा रकम विनियोजन गर्दै आएको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए ।

उनले भने, “हिमाली गाउँपालिकाका अधिकांश टोल टोलमा एक घर एक खानेपानीको धारा निर्माण गरेका छौँ ।”

केही बाँकी रहेका टोलमा पनि यो वर्ष खानेपानीको व्यवस्था गर्दै जाने हिमाली गाउँपालिका प्रमुख प्रशासकीय भण्डारीले बताए ।

प्रकाशित मिति : २०८१ भाद्र २२ गते, शनिबार


Scroll to Top

Janata Media