नेपालमा एक वर्षमा सात हजार २२३ जनाले गरे आत्महत्या

जनता संवाददाता
२०८१ भाद्र २३ गते, आईतवार

काठमाडौँ । नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका छन् । आइतबार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा सो तथ्याङ्कबारे जानकारी गराइएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताए ।

उहाँले नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको बताए। एसडिजीको लक्ष्य ४.७ मा झार्ने भए पनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोर किशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजनन उमेर समूहका महिलाको मृत्युको पहिलो कारण आत्महत्या रहेको बताए ।

उहाँकाअनुसार आत्महत्याका धेरै कारणमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेको बताए । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको बताए ।

विश्वमा मृत्युका कारणमध्ये आत्महत्या १५ औँ कारण रहेको बताए । विश्वमा वार्षिक सात लाख मानिस आत्महत्याको कारणले मृत्यु वरण गर्ने तथ्याङ्क रहेको छ ।

विश्वमा हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्क रहेको उनले बताए । विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरू अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन् । साउथ इस्ट एसियामा मात्रै ३९ प्रतिशत रहेको छ। यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ भन्ने नारासहित’ विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ ।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते, आईतवार


Scroll to Top

Janata Media