रिगललाई आममाफी दिने निर्णय बदर गर्न सर्वोच्चको आदेश (पूर्णपाठसहित)

जनता संवाददाता
२०८० कार्तिक १६ गते, बिहीबार

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैद सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न आदेश दिएको छ ।

बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्न आदेश दिएको हो । सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरे रिगलको कैद मिनाहा गर्ने निर्णय बदर भएको जानकारी दिए ।

संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलसहित अन्यको कैद मिनाहा गरेका थिए ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोग रिगलमाथि थियो । रिगललाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

रिगल बाँकेकै चेतन मानन्धरको हत्यामा दोषी ठहर भई जेल चलान भएका थिए । रिगलले आममाफी पाएपछि भारती शेर्पाले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते, बिहीबार


Scroll to Top

Janata Media