शिक्षकहरुको आन्दोलनबारे ग़ैरसरकारी संस्था महासंघको गम्भीर ध्यानाकर्षण

जनता संवाददाता
२०८१ चैत्र २८ गते, बिहीबार

काठमाडौँ । ग़ैरसरकारी संस्था महासंघ नेपालले विद्यालय शिक्षा विधेयक–२०८० र त्यससँग सम्बन्धित शिक्षक आन्दोलनबारे गम्भीर ध्यानाकर्षण गराएको छ। २०८१ चैत २० गतेदेखि सुरु भएको शिक्षकहरूको आन्दोलनले देशभरको शैक्षिक वातावरण प्रभावित बनिरहेको अवस्थामा महासंघले एक विज्ञप्ति जारी गर्दै सरोकारवाला सबै पक्षलाई संवेदनशीलता र जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकबारे पर्याप्त छलफल र सहमति नगरी अगाडि बढाइएकोले असन्तुष्टि बढेको छ। यसले देशको शिक्षा प्रणाली, विशेषगरी एसईई परीक्षा र नयाँ सत्रमा पर्नसक्ने नकारात्मक असरप्रति हामी गम्भीर छौं।”

महासंघका अध्यक्ष अर्जुन भट्टाराई र महासचिव देवी खड्काले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शिक्षा कुनै पनि दल वा व्यक्तिको स्वार्थमा बन्दक बन्नु हुँदैन। यो हाम्रो साझा सरोकार हो। त्यसैले सबै पक्षलाई आत्मसंयम, संयम र सहकार्यको भावनाका साथ अघि बढ्न आग्रह गर्दछौं।”

महासंघले सरकार र आन्दोलनरत शिक्षक महासंघबीच तुरुन्त वार्ता र संवादको वातावरण निर्माण गर्न आह्वान गरेको छ। साथै, शैक्षिक गुणस्तर र पहुँचमा कुनै असर नपर्ने गरी सहमति खोज्नुपर्नेमा जोड दिइएको छ।

शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न र दीर्घकालीन सुधार सुनिश्चित गर्न नीति निर्माण तहमा पर्याप्त संवाद र सहभागिता सुनिश्चित गर्नुपर्नेमा महासंघले जोड दिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते, बिहीबार


Scroll to Top

Janata Media