जिपसहित चालक र सह–चालकको शव फेला

जनता संवाददाता
२०८१ आश्विन १४ गते, सोमबार

काठमाडौं । रुपन्देहीमा आएको बाढीमा परी शनिबारदेखि हराइरहेका दुध बोक्ने गाडीका चालक र सहचालकको शव फेला परेको छ ।

दुध बोकेर रुपन्देहीको मर्चवार (सम्मरीमाई गाउँपालिका) देखि भैरहवातर्फ आउँदै गरेको भे १ च २६७६ नम्बरको जिपसँगै जिपका चालक र सहचालक बेपत्ता भएका थिए । घाघरा नदीमा गाडीसहित बगेका चालक र सह–चालकको शव सोमबार मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देही जनाएको छ ।

दुध बोकेर शनिबार बिहान करिब ५ बजेतिर भे १ च २६७६ नम्बरको जिपसँगै जिपचालक र सह–चालक नदीमा बेपत्ता भएका थिए । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जिपचालक प्रकाश तामाङ र सह–चालक उमेश लोधको शव फेला परेको जानकारी दिए ।

सोमबार बिहान दुई जनाको शव नदीमा फेला परेको र दुवै जनाको परिवार आएर शवको पहिचान गरेको उनले जानकारी दिए । रुपन्देहीको सम्मरीमाई गाउँपालिका –५ रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट सो गाडी दुध लिएर शनिबार बिहान ५ बजे भैरहवा आउँदै गरेको थियो ।

सोहीक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडि रहेको घाँघरा खोला तर्ने क्रममा बगेको थियो । निरन्तरको वर्षाले घाघराको बहाव उच्च थियो । तर, विमानस्थल पछाडि बनाइएको कल्भर्ट पार गर्ने क्रममा बगेको थियो ।

जिप आइतबार क्रेनको सहायताले सशस्त्र प्रहरी बल नेपाल २७ गण भैरहवा, रुपन्देहीको टोलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणतर्फ घाघरा खोलाबाट निकालेको थियो । पानीमा डुबेको अवस्था जिप निकाले पनि चालक र सह–चालकको शव सोमबार मात्र फेला परेको हो ।

प्रकाशित मिति : २०८१ आश्विन १४ गते, सोमबार


Scroll to Top

Janata Media