वालिङ दुर्घटना अपडेट : घाइते अवस्थामा भेटिए चालक

जनता संवाददाता
२०८१ चैत्र १० गते, आईतवार

काठमाडौं । स्याङ्जाको वालिङमा भएको सडक दुर्घटनामा बेपत्ता रहेका चालक घाइते अवस्थामा भेटिएका छन्। चापाकोट नगरपालिका घर भएर वालिङ–७ केवरेमा बस्दै आएका २८ वर्षीय चालक सुरज थापा घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दुर्घटनास्थल भन्दा केही पर थापा घाइते अवस्थामा भेटिनु भएको हो। घाइते थापालाई उपचारका लागि अस्पताल लगिएको छ।

वालिङ–चापाकोट सडकखण्ड अन्तर्गत वालिङ नगरपालिका-५ र ७ को सिमाना मझकोटमा गएराति भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो।

दुर्घटनामा वालिङ नगरपालिका-७ हिलेपानीकी ४८ वर्षीया दिलसरा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ। सडक भन्दा झण्डै १५० मिटर तल सवारी साधन देखेपछि प्रहरीलाई खवर गरेको वडा नं. ५ का वडा अध्यक्ष छविलाल आलेले बताए ।

ग १ ज ७५११ नम्बरको विन्ङ्गर भ्यान दुर्घटनाग्रस्त अवस्थामा रहेको भए पनि कता जाँदै गरेको हो भन्ने नखुलेको प्रहरीको भनाइ छ। महिला मृत अवस्थामा घटनास्थलमा नै भेटिएको प्रहरीले जनाएको छ। चालक फेला परेपछि घटना बारे खुल्ने प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते, आईतवार


Scroll to Top

Janata Media