काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका छन् ।
एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेका हुन् । अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलमा पूर्णतः डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ । बाढीका कारण उक्त तलमा रहेका उपकरण र महत्वपूर्ण सामग्री ध्वस्त भएको छ ।
दलको कार्यालयमा अहिले सरसफाइको क्रम सुरु गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई महासचिव शङ्कर पोखरेल, केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीलगायतले अवस्थाबारे जानकारी गराएका थिए ।