काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उत्पादनको प्रयोग बढाउन आग्रह गरेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न सबैलाई आग्रह गरेका हुन् ।
“स्वदेशी उत्पादन टोपी र मखलर लगाउने बानी बसालौँ, मैले पनि सधैँ लगाउँछु, यसले नेपाली उद्योगलाई प्रोत्साहन गर्छ,” प्रधानमन्त्री ओलीले भने ।
आयातित वस्तुले बजार ओगटिरहेका बेलामा स्वदेशी वस्तुको उत्पादन बढाएर आत्मनिर्भरतातर्फ लाग्न उद्यमीलाई उनले अनुरोध गरे । आयातलाई प्रतिस्थापन गरी निर्यातलाई बढावा दिनका लागि स्वदेशी उत्पादनमा जोड दिनसमेत उनले आग्रह गरेका छन् ।
“बिहान उठ्नेबित्तिकै आफ्नो देशमा उत्पादन भएको दन्तमन्जन र ब्रस प्रयोग गर्दा कति आनन्द आउँछ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “धागो, कपडा, जुत्ता, मोजा र साबुन उत्पादन गरेर
प्रयोग गर्ने बानी बसाले यसले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुका साथै आयातलाई प्रतिस्थापन गर्न सघाउँछ ।”
उनले भने, “८४ व्यञ्जनका परिकार नेपालमै छन् । एउटा वस्तुबाट अनेक परिकार बन्ने हुँदा स्वदेशी उद्योगलाई प्रवर्धन गर्न आफ्नै उत्पादनमा ध्यान दिनु पर्छ । यसका लागि कानुनमा सुधार, कर प्रणालीमा सुधार गर्नुपर्ने छ भने सुझाव राख्दा हुन्छ, सरकार कार्यान्वनमा लाग्छ ।”
कर्मवीर उद्यमी व्यवसायीलाई गफ गरेर कुरा काटेर नबस्न र असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेको धारणा राखे ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्दै मुलुकको अर्थतन्त्र सबलीकरणका दिशामा क्रियाशील रहेको बताए ।
मन्त्री भण्डारीले सरकारले उद्योग तथा व्यवसायको विकासका लागि तदारुकतासाथ काम गरिरहेको बताउँदै देशमा औद्योगिक तथा व्यावसायिक वातावरण सहज बनाउन आर्थिक क्षेत्रसँग सम्बन्धित करिब एक दर्जनभन्दा बढी ऐन संशोधन गरिएको उल्लेख गरे ।
उद्योग प्रतिष्ठानको सञ्चालनमा थप सहजता ल्याई वस्तु तथा सेवाको उत्पादन बढाउने र उत्पादन लागत मूल्य प्रतिस्पर्धी बनाउने उद्देश्यले ऐन संशोधन गरिएको मन्त्री भण्डारीको भनाइ छ ।
राष्ट्रिय स्टार्टअप नीति, २०८१ नेपाल सरकारबाट स्वीकृत भई स्टार्टअप कर्जा कार्यक्रम कार्यान्वयनमा आइसकेको, स्थानीय बजारको सुनिश्चितता तथा आन्तरिक रोजगारीको प्रवर्धन गर्न सरकार लागिरहेको मन्त्री भण्डारीले बताए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिवर्तन भएका कानुनलाई कार्यान्वयन गरी सरकारले नीतिगत स्थायित्वको प्रतिबद्धता दिनुपर्ने बताए ।
नेपालमा राम्रा कानुन र व्यवस्था भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा कसैले लाभ लिन नसकेको उल्लेख गर्दै उनले निजी क्षेत्रले दिएका सुझावले कानुनमा सुधार आएकाले यसले लगानीमा वृद्धि हुने बताए ।
निजी क्षेत्र मिलेर १० अर्ब पुँजीको नेपाल विकास सार्वजनिक कम्पनी स्थापना गरिएकाले यसले स्वदेशी पुँजी परिचालन गरेर सडक, पूर्वाधार, ट्रान्समिसनका लाइन निर्माण गर्न सक्ने उनको भनाइ छ ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले आत्मनिर्भर अर्थतन्त्र बढाउन स्वदेशी उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए । सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने नीति स्वागतयोग्य रहेकाले यसले यसले स्वदेशी वस्तुको उत्पादन र प्रयोगलाई नयाँ आयाम दिने उनको भनाइ छ । सरकारले कानुनमा गरेको सुधार निजी क्षेत्रका लागि स्वागतयोग्य रहेकाले प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकारले निजी क्षेत्रलक्षित कानुन सुधार गरेकाले लगानीको वातावरण सिर्जना हुँदै गएको बताए ।







