दसैँ महोत्सवमा मौलिक उत्पादनमा आकर्षण

जनता संवाददाता
२०८१ आश्विन २१ गते, सोमबार

काठमाडौँ । दसैँलक्षित ‘नेपाली उत्पादनको प्रवर्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ प्रदर्शनीमार्गमा जिल्लास्तरीय उद्योग मेला तथा दसैँ महोत्सव चलिरहेको छ । प्रदर्शनीमा राखिएका स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादन, अचार, छोप, मह, क्रिस्टलका गहना, ओखलमा प्रत्यक्ष कुटेका चिउरालगायतमा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।

प्रदर्शनीमा सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भुइँकटहरलगायतका प्राकृतिक रेसाबाट बनेका कपडाका उत्पादन, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन, नेपाली जुत्ता उपभोक्ताका रोजाइमा परेका हुन् । घरेलु तथा साना उद्योग सङ्घ काठमाडौँ र काठमाडौँ महानगरपालिकाको संयुक्त रूपमा राजधानीको राष्ट्रिय सभागृहको परिसरमा सञ्चालित मेला आगामी असोज २४ गतेसम्म चल्ने छ । काठमाडौँ महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगको सहभागिता रहेको छ ।

घरेलु तथा साना उद्योग सङ्घ काठमाडौँका सचिव तथा मेला संयोजक जितेन्द्रकुमार श्रेष्ठले काठमाडौँ महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगको सहभागिता रहेको बताए ।

काठमाडौँ महानगरपालिका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलाले अर्थतन्त्रमा महìवपूर्ण योगदान पु¥याउने लघु, घरेलु तथा साना उद्योगको प्रवर्धन र बजारीकरणमा सघाउन प्रदर्शनी आयोजना गरिएको बताए । घरेलु तथा साना उद्योग सङ्घ काठमाडौँकी अध्यक्ष पद्मकुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्वारा उत्पादन गरिएका वस्तुलाई प्रवर्धनका साथै बजारीकरण गर्न प्रदर्शनीले सघाउ पुग्ने बताए ।

प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेसाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफूल, चोयाको सामान, तयारी पोसाक, क्रिस्टलका गहना तथा सामग्री, ढाकाका कपडा, ओखलमा कुटेका चिउरा, अर्गानिक अचार र छोप, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्री, प्लास्टिकबाट पुनः प्रयोगबाट बनाइएका कलात्मक वस्तुलगायतका ७० वटा स्टल रहेका छन् ।

प्रकाशित मिति : २०८१ आश्विन २१ गते, सोमबार


Scroll to Top

Janata Media