काठमाडौं । पोखरामा यसपालिको बडादसैँको टीका (विजयादशमी) का दिन निःशुल्क बस चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र यहाँ रहेका यातायात व्यवसाय कम्पनीहरूको सहकार्यमा असोज २६ गते बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म निःशुल्क बस सेवा दिइने भएको हो ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सात वटा रुटमा १८ गाडीबाट यो सेवा दिइने जानकारी दिए । सो दिनका लागि पोखरा महानगरपालिकाले बसका चालक, सहचालकका लागि भत्ता उपलब्ध गराउनेछ । टीकाको दिन सवारी कम चल्ने र सर्वसाधारणलाई सास्ती हुने भएकाले प्रशासनको अग्रसरतामा यस्तो निर्णय भएको हो ।
सो दिनका लागि व्यवसायीले आफ्ना गाडी निःशुल्क उपलब्ध गराउने छन्। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले तीन वटा बसमार्फत फेदीदेखि हेमजा, हरिचोक हुँदै पृथ्वीचोकसम्म सेवा दिनेछ ।
स्थानीय यातायात कम्पनीले कोत्रेदेखि पृथ्वीचोकबाट चिप्लेढुङ्गा हुँदै बागलुङ बसपार्कसम्म बस चलाउनेछ। पोखरा यातायात प्रालिले तीन वटा रुटमा तीन वटाका दरले नौ सवारीसाधनमार्फत निःशुल्क सेवा दिनेछ ।
पोखरा यातायात प्रालिले लामाचौर, बगर, महेन्द्रपुल, बिरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा, महेन्द्रपुल, चिप्लेढुङ्गा हुँदै लेकसाइडसम्म र काहुँखोला पृथ्वीचोक हुँदै हल्लन चोकसम्म बस चलाउनेछ ।
बेगनास पोखरा यातायात प्रालिले दुई वटा रुटमा दुई वटाका दरले चार सवारीमार्फत सेवा दिनेछ। यसले बेगनास ताल, तालचोक, पृथ्वीचोक हुँदै बागलुङ बसपार्क, र राजाको चौतारा, सातमुहाने, खुदी हुँदै बागलुङ बसपार्कसम्म सेवा दिनेछ ।
पोखरा महानगरपालिका यातायात व्यवस्थापन उपसमितिका उपाध्यक्षसमेत रहनुभएका पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले १८ सवारी साधन पर्याप्त नभए पनि राम्रो सुरुवात गरिएको उल्लेख गरे ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले सधैँ व्यवसाय मात्र नभई राज्यलाई आवश्यक परेको बेला सहयोग गर्न र सामाजिक उत्तरदायित्व वहन गर्न पनि तयार रहेको जनाए ।







