काठमाडौँ । आज बिहानदेखि एकतर्फी रूपमा खुलेको बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त राजमार्ग आजै बिहान खुलेकोमा केही समयपछि सुक्खा पहिरो गएपछि राजमार्ग अवरुद्ध हुन पुगेको हो ।
काभ्रेको रोशी गाउँपालिका पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमो पुरेको छ । उक्त सुमो निकाल्न गएको डोजरलाई पनि पहिरोले पल्टाइदिएपछि राजमार्ग अवरुद्ध भएको हो ।
त्यस्तै सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ४३५२ नम्बरको बसलाई पनि पहिरोले रोशी खोलामा धकेलेको छ । माथिबाट सुक्खा पहिरो जाने क्रम नरोकिएपछि राजमार्ग खुलाउन समस्या भएको छ ।
पहिरो जान रोकिएको १ घण्टामै सडक खुलाउने तयारी छ ।







