कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

जनता संवाददाता
२०८१ आश्विन २६ गते, शनिबार

काठमाडौँ । मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेश लगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झा अनुसार आज तीन प्रदेशका पहाडी भू–भागका हल्का वर्षाको सम्भावना पूर्वानुमान गरिएको छ। वर्षा भए पनि खासै ठूलो भारी वर्षाको सम्भावना छैन।

“आज दिउँसो बदली र वर्षाको सम्भावना छ, तर, ठूलो भारी वर्षा भने हुनेछैन, त्यसैले आत्तिनुपर्ने अवस्था छैन, बदली रहेपनि झरी पर्नेछैन, क्षति पुर्याउने किसिमको पानी पर्दैन।”

मौसमविद् झाले वर्षा भएपनि दशैँको टीका बिथोल्ने किसिमको झरी पर्ने अवस्था नरहेको उल्लेख गरे। दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।

कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ।

न्यूनतम तापक्रम क्रमशः घट्र्दै गएकाले काठमाडौँमा सामान्य चिसो बढेको छ। अबको एकसाता न्यूनतम तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कत अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८१ आश्विन २६ गते, शनिबार


Scroll to Top

Janata Media