गोविन्द बहादुर शाहीको प्रोफाइल || Gobinda Bahadur Shahi’s Profile

जनता संवाददाता
२०८१ कार्तिक ३० गते, शुक्रबार

गोविन्द बहादुर शाही, कर्णाली प्रदेश हुम्ला जिल्ला चंखेली गाउँपालिका वडा नं ६ मेल्छाममा २०३५ सालमा जन्मिएका हुन् । निम्न परिवारमा जन्मिएका उनको जीवन निकै सङ्घर्षपूर्ण रह्यो । सङ्घर्ष गर्दै जाँदा उनी अहिले किर्डाक नेपालको कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । उनी गैर सरकारी संस्था महाँसंघ नेपालका केन्द्रीय सचिव, नेपाल बुद्दिजिवी परिषद्का केन्द्रीय उपमहासचिव र माउन्टेन पार्टनरशीप भन्ने अन्तराष्ट्रिय संजालको उपाध्यक्ष जस्ता महत्वपूर्ण पदमा सक्रिय छन् । उनी अहिले देशको राजधानी काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं ५ हाईभिजन कोलोनीमा बसोबास गर्छन् । जनता मिडियाले तयार पारेको उनै शाहीको व्यक्तिगत प्रोफाइल तल प्रस्तुत छ ।

परिचयः
गोविन्द बहादुर शाही, हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नं ६ सावीकको मेल्छाम गा.बि.स. वडा न. ७ मासिधारामा २०३५ सालमा बुवा मुन बहादुर शाही र मुवा स्वर्गीय धनकली शाही का माईलो छोराको रुपमा जन्मिएका हुन् । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं ५ हाईभिजन कोलोनीमा ५ जनाको परिवार श्रीमती बिमला कुमारी शाही (माया), छोरी स्वस्तिका शाही, छोराहरु बिशाल शाही र विधान शाही सहितको परिवारमा बसोबास गर्छन् । उनी तीन जना सन्तानमध्ये जेठो दाजु अज बहादुर शाही र बहीनी स्वर्गीय रत्न शाही मध्येका माईलो सन्तान हुन् ।

इतिहासः
हुम्ला जस्तो एकदमै दुर्गम जिल्लामा जन्मिएका उनको सानैदेखि पढाईमा रुचि थियो । सामान्य खेतीपाती र पशुपालनबाट गुजारा गर्नुपर्ने परिवारमा जन्मेका उनका बुबा केही रुपमा शिक्षित थिए । उनका बुबा अहिले पनि छन् । आठ कक्षासम्म पढेका बुबा गाउँमै बस्छन् । अहिलेसम्म सगोलमा बसोवास गरीरहेका उनी रोजगारीको सीलसीलामा काठमाण्डौमा बसोबास गरेतापनि पैतृक सम्पती तथा अन्य सबै घर व्यबहार जन्मस्थानमै छ ।

बाल्यकालः
आर्थिक अवस्था खासै राम्रो नभएको घरमा जन्मिएका शाहीको बाल्यकाल कस्टपूर्ण नै रह्यो । आर्थिक अवस्था कमजोर भएकै कारणले उनका बुबाले उनलाई नपढाउने निर्णय गरे । लामो समय ११ वर्षसम्म स्कुल जानबाट बञ्चित हुनुपर्यो । सानो छँदा स्कुसम्म पुग्नकै लागि घरबाटै सङ्घर्ष गरेका उनले अन्तत पढेरै छोडे । पढ्नु हुँदैन, खान लाउन पुग्दैन, पछि के गर्छस् भन्ने समाजमा हुर्किएका शाही पढेर नै सफलता हासिल गर्ने पक्षमा दृढ थिए । त्यसकारण, समाजसँग त एक खालको सङ्घर्ष छँदैछ तर उनले बाल्यकालदेखि नै घरबाटै सङ्घर्षको थालनी गरेका थिए ।

शिक्षाः
गाउँमै रहेको हिमालय निम्न माध्यामिक विद्यालयमा ७ कक्षासम्म, पारीको गाउँ दार्मा रहेको महादेव माध्यामिक विद्यालयबाट २०५३ सालमा एसएलसी उतिर्ण गरे । उच्च शिक्षा अध्ययनका लागि क्याम्पस नभएकाले उनले बुटवलमा रहेको बुटवल बहुमुखी क्याम्पसबाट (इन्टर र डिप्लोमा) पुरा गरे । त्यसपछि काठमाडौँ आएर त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी विषयमा मास्टर डिग्री पुरा गरे । उनी अहिले पिएचडी गर्ने तयारीमा छन् । गैर सरकारी संस्थामा काम गर्दा गर्दै उनले देश तथा विषयमा विभिन्न किसिमका तालिम तथा गोष्ठीहरुमा महत्वपूर्ण रुपमा सहभागी हुने अवसर पाईसकेका छन् ।

सोच र योजनाः
इमान्दारिता र मेहनत नै सफलताको कडीको रुपमा मान्ने शाहीको सोच समाज रुपान्तरण गर्नेतर्फ नै आकर्षित छ । जस्तासुकै अप्ठ्यारा आएपनि आत्तिनु हुँदैन भन्ने मनसायबाट काम गरेका उनको सोच सँधै सकारात्क ढंगले सोचेर त्यही अनुरुप समाज रुपान्तरणका लागि योगदान गर्ने छ । उच्च शिक्षा अध्ययनका लागि गाउँबाट सहर आउने बेला शिक्षित हुनुपर्छ र त्यो शिक्षलाई गाउँमा लिएर गाउँका मानिसलाई पनि शिक्षित बनाउनुपर्छ भन्ने योजना बनाएका उनको अबको योजना विभिन्न हिसाबले पछि परेको हुम्ला लगायत समग्र कर्णालीलाई रुपान्तरण गर्ने छ । व्यक्तिगत रुपमा पनि कुनै एक विषयमा खोज तथा अनुसन्धानात्क रुपमा पिएचडि गर्ने उनको योजना छ ।

सफलताका कथाहरुः
बुटवलमा शिक्षण पेसाबाट सुरु गरेको उनको व्यवसायिक जीवनमा थुप्रै सफलताहरु हासिल भएका छन् । हुम्लामै पनि सरकारी विद्यालयमा अंग्रेजी शिक्षकको राम्रै छवि बनाएका उनलाई विद्यालयहरुले तानातान पनि गरेको उदाहरण छ । सर्केगाडमा पढाउँदा पढाउँदै सिमकोट सरुवा गरिएको उदाहरण पनि उनकै शिक्षण गरेको समयमा ज्वलन्त उदाहरणका रुपमा छ । यो उनको शिक्षक हुँदा पनि प्राप्त गरेको सफलता हो । त्यसपछि उनी शिक्षण पेसा छोडेर सामाजिक संस्थामा जोडिए । त्यसमा पनि सामान्य कर्मचारीका रुपमा किर्डाक नेपालमा प्रवेश गरेका उनी उक्त संस्थाकै कार्यकारी निर्देशकका रुपमा छन् । यो उनको जीवनकै ठुलो सफलता हो । यसका माध्यमबाट नै देश तथा विदेशका महत्वपूर्ण तालिम, गोष्ठी र मञ्चमा सहभागी हुने अवसर पाएका छन् । सहभागी मात्रै नभएर आफ्नो क्षमता प्रदर्शन गर्ने मौका समेत पाएका छन् ।

जीवनका चुनौतीः
विद्यालयसम्म पुग्नकै लागि परिवारबाटै सङ्घर्ष गरेका उनले जीवनमा थुप्रै चूनौतीहरु झेल्नु परेको छ । गरिबी व्याप्त भएको समाजमा हुर्किएका उनलाई राष्ट्रिय रुपमा स्थापित हुन पनि निकै चूनौतीपूर्ण थियो । सरकारी निकायले गैर सरकारी संस्थाहरुलाई हेर्ने नजर पनि उनका लागि सबभन्दा ठुलो चूनौती थियो । जुन पछिल्लो समयमा केही कम हुँदै गएको छ । सामाजिक संस्थामा काम गर्दा गर्दै विभिन्न खालका अप्ठ्यारा बेहोरेका उनी ति अप्ठ्यारा छिचोल्दै अगाडी बढे । अन्ततः असल कर्ममा विश्वास गर्ने उनी सफल भएरै छाडे । अहिले उनी किर्डाक नेपाल जस्तो राष्ट्रिय रुपमा काम गर्ने गैर सरकारी सामाजिक संस्थाको कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् ।

सामाजिक काममा उपलब्धीः
करिब दुई दशक समय सामाजिक काममै लगाएका शाहीले सानाठुला थुप्रै सफलता हासिल गरेका छन् । उनी आवद्ध भएको संस्था किर्डाक नेपाल नेपालका अन्य केही जिल्ला र विशेषगरी साबिकको कर्णाली अञ्चलमा लक्षित गरी स्थापना गरिएकाले पनि उनले कर्णालीका जिल्लामा विशेष योगदान दिएका छन् । कर्णालीमा हुने गरेका कुरिति, अशिक्षा, महिलामाथि हुने गरेका हिंसा, छाउपडि लगायत विषय अन्त्य हुनुमा उनको सहभागिता तथा योगदान महत्वपूर्ण रह्यो । यो उनको सामाजिक रुपमा हासिल गरेको उपलब्धी हो । कर्णालीका अत्यन्तै दुर्गम क्षेत्रमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा, प्रौढ शिक्षा सञ्चालन गरी सारक्षता बनाउनु पनि उनको महत्वपूर्ण उपलब्धी हो ।

भविष्यका सपना र लक्ष्यः
बाल्यकालदेखि नै हरेक समयमा सङ्घर्ष गर्दै आफुलाई प्रमाणित गरेका शाहीको अबको सपना समाज रुपान्तरण गर्ने छ । उनी आफुले झण्डै दुई दशक सामाजिक संस्थामा काम गरेको अनुभवलाई समाज रुपान्तरणका लागि प्रयोग गर्न चाहन्छन् । कर्णाली जस्तो दुर्गममा रहेका सम्भावनालाई खोजी गरी विश्वव्यापीकरण र कर्णालीलाई विकास तर्फ लम्काउनका लागि सँधै आफ्नो ठाउँमा लाग्ने दृढ छन् ।

सुझावः
संसारमा सफल हुनेको मात्रै इतिहास लेखिन्छ, त्यो सङ्घर्ष गर्नेबेला ठुलो मेहनत गर्नु परेको हुन्छ । यहि सफल मान्छे हुनका लागि सङघर्षका क्रममा इमान्दार, मेहनेत र निरन्तर लाग्न उनको सबैमा सुझाव छ । आफू स्वयम्लाई नढाँट्न र आफौलाई विश्वास गर्न सुझाउँछन् । दलिय राजनितिबाट माथि उठेर एक ढिक्का भएर देशको विकासका लागि हातमालो गर्न पनि उनको आह्वान छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ३० गते, शुक्रबार


Scroll to Top

Janata Media