झापा ११ बेलबारी गोलडकपको सेमिफाइनलमा

जनता संवाददाता
२०८१ कार्तिक ४ गते, आईतवार

काठमाडौं । झापा ११ फुटबल क्लब, भोजपुर फुटबल क्लबलाई ३(० ले हराउँदै बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको जितका लागि निरज कार्कीले एक गोल र प्रदीप बुढाथोकीले दुई गोल गरे । खेल सुरु भएको पहिलो मिनेटमै झापाका निरज कार्कीले भोजपुर विरुद्ध गोल गरे । निरजले पोष्टमा प्रहार गरेको बल भोजपुरका खेलाडी सन्जय लिम्बूले गोललाइनबाट ब्याक पास गरेर उत्कृष्ट बचाउ गरेका थिए । तर, उक्त बललाई निरजले नियन्त्रणमा लिई सिँधै गोलपोष्टको जाली चुमाए ।

मध्यान्तर अघि १–० ले अग्रता कायम गरेको झापाले ७५ औँ मिनेटमा एक गोल थप्यो। झापाका प्रदीप बुढाथोकीले मैदानको मध्यभागबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो। अतिरिक्त समयमा झापाका बुढाथोकीले थप गोल गर्दै टिमको सेमिफाइनल यात्रा तय गराए ।

आइतबारको खेलमा झापाका निरज कार्की ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई शिवसतासी नगरपालिका झापाका नगर प्रमुख रोशन थोप्राले नगद पाँच हजार र ट्रफी प्रदान गरे। सोमबार चित्लाङ फुटबल क्लब काठमाडौँ र राजारानी फुटबल क्लब धनकुटा बिच खेल हुनेछ।

प्रतियोगिताका विजेताले आठ लाख नगद र गोल्ड कप र उप विजेताले पाँच लाख नगद र ट्रफीसहित प्रमाण पत्र र मेडल पाउने छन्।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते, आईतवार


Scroll to Top

Janata Media