गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी

जनता संवाददाता
२०८१ कार्तिक १० गते, शनिबार

काठमाडौं । राप्तीसोनारी गाउँपालिका –७ का स्थानीय सर्वसाधारण गाउँमै निःशुल्क रुपमा स्वास्थ्य सेवा पाउँदा खुसी भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रले शुक्रबार गाउँमै पुगेर निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरेपछि त्यहाँका स्थानीय सर्वसाधारण खुसी भएका हुन् ।

शुक्रबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ स्थित फत्तेपुर स्वास्थ्य चौकीमा पुगेर असल छिमेकी स्वास्थ्य केन्द्रले नाक, कान तथा घाँटी रोगको निःशुल्क रुपमा स्वास्थ्य जाँच गर्नुका साथै औषधी समेत निःशुल्क वितरण गरेको हो ।

राप्तीसोनारी –७ का ८२ वर्षीय वृद्ध सुन्दरलाल शर्माले आफ्नो गाउँमै आएर निःशुल्क रुपमा आफ्नो स्वास्थ्य जाँच भएकोमा खुसी व्यक्त गरे । “मेरो कान नसुन्ने समस्या थियो, बुढो भइसकेँ बजार पुगेर अस्पतालमा जाँच गर्न पनि सम्भव थिएन ।” शर्माले भने, “आज आफ्नै गाउँमा निःशुल्क कान जाँच भयो, आवश्यक औषधी पनि निःशुल्क रुपमै मिल्यो, खुसी लागेको छ ।”

अर्का स्थानीय ७५ वर्षीय अवध मौर्यले भने, “एक वर्षदेखिको नाकको समस्या गाउँमै आएका डाक्टरले हेरिदिए, समस्या के हो भन्ने थाहा भयो, रोग पहिचान भयो, औषधी पनि निःशुल्कै दिए, अब मेरो नाकको समस्या निको हुन्छ होला ।”

“मेरो घाँटीमा अप्ठयारो हुने गरेको थियो, के–के चिज अड्केजस्तो लाग्थ्यो, दुख्थ्यो पनि” ४० वर्षीया मनकुमारी थारुले भने, “डाक्टरले जाँच गरिदिए, औषधी पनि दिए, पैसा लिनु भएन, अति खुसी लागेको छ ।”

नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा। प्रकाश बसेलले स्वास्थ्य केन्द्रले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७५ जना स्थानीय नागरिकको स्वास्थ्य चेकजाँच गरिएको जानकारी दिए । उनले शिविरमा जाँच गराउन आएकामध्ये धेरैजसोमा कानको समस्या पाइएको बताए ।

“७५ जनामध्ये ५५ प्रतिशत जति कानसम्बन्धी रोगी हुनुहुन्थ्यो, त्यसमा पनि ३० जना जतिको कानको जालीमा प्वाल परेर शल्यक्रिया गर्नुपर्ने देखियो” डा. बसेलले भने, “२० प्रतिशत घाँटीसम्बन्धी र १५ प्रतिशत नाकसम्बन्धी रोगका बिरामी थिए, बाँकी ५ प्रतिशत नागरिक अन्य रोग जाँच गराउन आएका थिए ।”

स्वास्थ्य शिविरमा निःशुल्क रुपमा सर्वसाधारणको स्वास्थ्य जाँच गरिनुका साथै आवश्यक औषधी समेत निःशुल्क रुपमै वितरण गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रका अनुसार शिविरमा फेला परेका शल्यक्रिया गर्नुपर्ने बिरामीलाई न्यूनतम शुल्कमै स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

राप्तीसोनारी गाउँपालिका –७ को कार्यालयको समन्वयमा असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्र नेपालगञ्जको आयोजनामा गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको वडाअध्यक्ष रामलखन थारुले बताए ।

“वडाभित्रका नागरिकको स्वास्थ्यप्रति हामी सचेत र गम्भीर छौं, त्यो हाम्रो दायीत्व पनि हो, समय–समयमा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँगको समन्वयमा वडामा विभिन्न किसिमका रोगसम्बन्धी निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दैआएका छौं” अध्यक्ष थारुले भने ।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते, शनिबार


Scroll to Top

Janata Media