
काठमाडौं । सर्लाहीको हरिपूर्वामा एक भारतीय युवकको विभत्स ढङ्गले हत्यागरी फरार रहेका युवक डेढ वर्षपछि पक्राउ परेका छन् । भारतीय नागरिक २६ वर्षीय शेखर सुमन भन्ने सिकु कुमारलाई धारिलो हतियारले घाँटी काटेर हत्या गरेको अवस्थामा २०८० बैशाख २६ गते हरिपूर्वा नगरपालिका –१, स्थित अनरजित महराको खेतमा शव फेला परेको थियो ।
सो घटनामा संलग्न भारतको बिहार राज्य सितामढी जिल्ला सोनवर्षा थाना पुरनदाहा ग्रामपञ्चायत राजवाडा बस्ने २७ वर्षीय धर्मेन्द्र रायलाई प्रहरीले डेढ वर्षपछि पक्राउ गर्न सफल भएको हो ।
उनलाई मलङ्गवा नगरपालिका –८, स्थित नेपाल–भारत सीमानजिक गोरखकालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार सिकुकुमारको हत्यामा छ जना संलग्न रहेको खुलेको छ ।
तीमध्ये यसअघि एक जना पक्राउ परेका थिए । चार जना अझै फरार नै रहेको र उनीहरुको खोजी भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए ।
एसपी सिंहका अनुसार पक्राउ परेका धर्मेन्द्रले नै सिकु कुमारलाई मोटरसाइकलमा हालेर सीमावर्ती क्षेत्रनजिक पर्ने हरिपूर्वा ल्याएर छजना मिलेर हत्या गरेका थिए । धर्मेन्द्रलाई सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद लिएर घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।