एक लाख पचास हजार नगदसहित १४ जना जुवाडे पक्राउ

जनता संवाददाता
२०८१ कार्तिक १९ गते, सोमबार

काठमाडौं । एक लाख पचास हजार नगदसहित १४ जना जुवाडेलाई प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका ४, सल्यानी बागबाट जुवातास खेलिरहेका १४ जना जुवाडेलाई सोमबार बिहान पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

जुवातास खेलिरहेको सूचनाको आधारमा गएको प्रहरी टोलीले सोमवार विहान करिव साढे १ बजेको समयमा सल्यानीबागस्थित सुवाष तारामी मगरको घरमा छापा मार्दा एक लाख ५४ हजार ८२० रुपियाँ र चार गड्डी तास बरामद गरेको एसपी कार्कीले जानकारी दिए ।

प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा गएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका ४ का ४० वर्षीय पृतम शाक्य, सोहि ठाउँका ४८ वर्षीय रामबहादुर पाण्डे, ३० वर्षीय सुरज श्रेष्ठ, सोही ठाउँका ४३ वर्षीय बिशालजङ्ग शाही र ४१वर्षीय उमेश सिंहलाई पक्राउ गरेको हो ।

त्यसैगरि, सल्यानीबागका ४२ वर्षीय अर्जुन सुनार, सोही ठाउँका ३० वर्षीय प्रेम सुनार, ४० वर्षीय बुद्धि रसाइली, ४० वर्षीय सुलभ सार्की, ३८ वर्षीय सुबाष तारामी मगर, ४१ वर्षीय रबिन थापा, ४६ वर्षीय लोकेन्द्र श्रेष्ठ, ४४ वर्षीय शरद श्रेष्ठ र सोही ठाउँका ४७ वर्षीय प्रकाश पोखरेललाई प्रहरीले पक्राउ गरेको एसपी कार्कीले बताए ।

प्रहरीले यसअघि जयसपुर, राप्तीसोनारी, वसपार्क लगायतका क्षेत्रबाट लाखौं रुपियाँसहित तीन दर्जन बढी जुवाडेहरु पक्राउ गरिसकेको छ ।

जुवातास नियन्त्रणका लागि बिशेष अभियान चलाएको प्रहरीले तदारुकताका साथ अभियान थालेपछि जुवाडेहरु धमाधम पक्राउ परेका छन् । ‘जुवातास नियन्त्रणका लागि सादा पोशाकका प्रहरी परिचालन गरि सूचना लिने र छापा मार्ने काम जारी छ,’ एसपी, कार्कीले भने ।

प्रहरी सक्रियताकै कारण यस वर्ष विगतका वर्षहरुभन्दा धेरै जुवाडेलाई पक्राउ गर्न सकिएको जिल्ला प्रहरी कार्यालय बॉकेले जनाएको छ।

प्रकाशित मिति : २०८१ कार्तिक १९ गते, सोमबार


Scroll to Top

Janata Media