स्टार्टअप कर्जा पुस अन्तिम सातादेखि

जनता संवाददाता
२०८१ कार्तिक २१ गते, बुधबार

काठमाडौँ । आगामी पुसको अन्तिम सातादेखि स्टार्टअप उद्यम कर्जा वितरण गरिने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालु आर्थिक वर्ष २०८१/८२ को स्टार्टअप उद्यम कार्यक्रम अन्तर्गत छनोटमा परेका परियोजनालाई आगामी पुस महिनादेखि कर्जा वितरण गर्ने तयारी गरेको हो ।

स्टार्टअप उद्यम कर्जा वितरण गर्न प्रतिष्ठानले गत भदौमा माग गरेको आवेदनमा पाँच हजार १६१ उद्यमीले परियोजना प्रस्ताव पेस गरेका थिए । प्रस्ताव पेस भएका परियोजनालाई अन्तिम चरणको छनोट गरेर स्टार्टअप उद्यम कर्जा वितरण गरिने प्रतिष्ठाले जनाएको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले सूचीकृतमा परेका परियोजना छोटो सूची तयार पार्ने काम भइरहेकाले पुस अन्तिमदेखि कर्जा वितरण गर्ने तयारी गरिएको गरिएको जानकारी दिए  । यस वर्ष पाँच सयदेखि छ सय परियोजनालाई स्टार्टअप उद्यम कर्जा वितरण गरिने उनले जानकारी दिए । परियोजनालाई तीन प्रतिशत ब्याजमा पाँच वर्षका लागि अधिकतम २५ लाख रुपियाँसम्म कर्जा प्रवाह गरिने उनले जानकारी दिए ।

उद्यमीलाई कर्जा उपलब्ध गराउन चालु आवको बजेटमार्फत एक अर्ब रुपियाँ विनियोजन गरिएको थियो । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्रवाह गर्ने स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत प्रवाह हुने कर्जा राष्ट्रिय वाणिज्य बैङ्कबाट प्रदान गर्ने गरी गत भदौमा सम्झौता गरिसकेको छ । कर्जा सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग पनि सम्झौता गरेको थियो । राष्ट्रिय वाणिज्य बैङ्कमार्फत छनोटमा परेका परियोजनाले कर्जा वितरण गरिने छ ।

स्टार्टअप उद्यमका कर्जाका लागि कृषि, सिँचाइ तथा पशुपन्छीमा आधारित उद्यम, उत्पादनमूलक उद्यम, वनमा आधारित उद्यम, पर्यटन प्रवर्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित उद्यम, मानव स्वास्थ्य सेवासँग सम्बधित उद्यम, पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित उद्यम, विद्युतीय सवारीसाधन तथा अटोमोबाइलसँग सम्बन्धित लगायतका १९ वटा क्षेत्रबाट आवेदन परेको प्रतिष्ठानले जनाएको छ ।

स्टार्टअप कर्जाका लागि उद्योग व्यवसाय दर्ता भई १० वर्ष ननाघेको, वार्षिक कारोबार १५ करोडभन्दा बढी ननाघेको र सञ्चालित उद्यम व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्यवसाय गरेका मात्रै योग्य हुने कार्यविधिमा उल्लेख छ । प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्थाका उद्यमले मात्र यो कर्जा पाउने पनि कार्यविधिमा उल्लेख छ । नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै गत वर्षदेखि सहुलियतपूर्ण कर्जाको वितरण गरिँदै आएको छ ।

गत आवमा एक हजार ६५८ परियोजनामध्ये कर्जाका लागि प्रतिष्ठानले १८३ उद्यमीलाई सिफारिस गरेको थियो । त्यसमध्ये जम्मा १६५ स्टार्टअप उद्यमीलाई कर्जा प्रवाह भइसकेको छ । गत वर्ष स्टार्टअप उद्यम कर्जा वितरण गर्न २५ करोड रुपियाँ विनियोजन गरेको थियो । गत वर्ष पाँच लाखदेखि २० लाख रुपियाँसम्म उद्यम कर्जा वितरण गरिएको प्रतिष्ठानले जनाएको छ । चार वर्षदेखि बजेटमा घोषणा हुँदै आएको स्टार्टअप उद्यम कार्यक्रम गत वर्षदेखि कार्यान्वयनमा आएको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक २१ गते, बुधबार


Scroll to Top

Janata Media